सर्वोत्तम सिमेन्टको ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ, अब सर्वसाधरणले कतिमा पाउँछन् ?

काठमाडौं । नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ)जारी गरेको सर्वोत्तम सिमेन्टको कटअफ मूल्य निर्धारण भएको छ । कम्पनीले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयर बाँडफाँट क्रममा ४०१ रुपैयाँ कटअफ मूल्य निर्धारण भएको हो ।

कम्पनीले मंसिर ६ गतेदेखि संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा ४१ योग्य संस्थागत लगानीकर्ताले ३६ लाख बढी कित्ताका लागि आवेदन दिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका अनुसार लगानीकर्ताले ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै आवेदन दिएका थिए । यता, कम्पनीले भने न्यूनतम न्यूनतम ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ मूल्य तोकेर सेयर बिक्रीमा ल्याएको थियो ।

सर्वोत्तमको कटअफ मूल्य निर्धारण भएसँगै अब आम सर्वसाधरणले निर्धारित मूल्यभन्दा १० प्रतिशत सस्तोमा सेयर किन्न पाउने छन् । बुकबिल्डिङ निर्देशिका अनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ । सो अनुसार अब सर्वसाधरणले ३६०.९० रुपैयाँमा आवेदन दिन पाउने छन् ।

सर्वोत्तमले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये संस्थागत लगानीकर्तालाई ४० प्रतिशत अर्थात् २४ लाख कित्ता बाँडफाँट गरेको छ । अब बाँकी ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लोबल आइएमई क्यापिटल लिमिटेड, सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीको सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँदछ ।

कम्पनीद्धारा संचालित सिमेन्ट उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । सो उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। उद्योगको प्रतिदिन उत्पादन क्षमता ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

 

फोटोनको १५ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै Read Previous

फोटोनको १५ सिटे ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै

नबिल एसएसई कार्यक्रमबाट ८६९ जनाले पाए रोजगारी Read Next

नबिल एसएसई कार्यक्रमबाट ८६९ जनाले पाए रोजगारी