काठमाडौं । खाद्य व्यवस्था तथा व्यपार कम्पनीले दशैंमा सर्वसाधरणलाई सहुलियत मूल्यमा बिक्री गर्न ल्याएका च्याङ्ग्रा अझै बिक्न सकेका छैनन् । दशैं सकिएको १ महिना बितिसक्दा समेत झन्डै २० प्रतिशत च्याङ्ग्रा बिक्री हसन नसकेका हुन् ।
खाद्यले दशैंका लागि कुल २ हजार २१२ वटा खसीबोका र च्याङ्ग्रा ल्याएको थियो । तीमध्ये खसीबोका (१६७० वटा) सबै बिके पनि अझै १०० बढी च्याङ्ग्रा बिक्री हुन नसकेको कम्पनीले जनाएको छ ।
खाद्य कम्पनीका अनुसार दशैंमा रसुवाबाट ५४२ वटा च्याङ्ग्रा ल्याइएको थियो । तीमध्ये ४४२ वटा च्याङ्ग्रा बिक्री भए पनि अझै १०० वटा बाँकी रहेको खाद्य कम्पनीका सूचना अधिकारी सर्मीला सुवेदीले जानकारी दिइन् । दशैंमा ३०० बढी र तिहारमा करिब १०० च्याङ्ग्रा बिक्री भएको उनले बताइन् ।
दशैंमा बेच्न ल्याएको च्याङ्ग्रा तिहार, छठ जस्ता पर्व बित्दा समेत नबिकेपछि कम्पनीले बिकाउने उपाय खोजिरहेको छ । सूचना अधिकारी सुवेदीका अनुसार अब सबै च्याङ्ग्रा ‘ब्लक सेल’ (एकमुष्ट) बिक्री गर्ने तयारी भइरहेको उनले बताइन् ।
उनले यसअघि चाडवाडमा सर्वसाधरण एउटा मात्र खसीबोका तथा च्याङग्रा बिक्री गर्ने व्यवस्था भए पनि अब भने ब्लकै बेच्न लागिएको उनले बताइन् ।
‘हामीले चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन खसीबोका र च्याङ्ग्रा ल्याएका थियौं । खसीबोका सबै बिकिसके । च्याङ्ग्रा अझै बाँकी छन्,’ उनले चाणक्य पोष्टसँग भनिन्, ‘अब नबिकेका च्याङ्ग्रा ब्लक सेलमा जाने तयारी भइरहेको छ । अब केही दिनमा सूचना सार्वजनिक गर्दै बिक्री सुरू गर्नेछौँ ।’
खसीबोकाको तुलनामा च्याङ्ग्रा महँगो छ । आर्थिक मन्दीका कारण आम उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा च्याङ्ग्रा बिक्री हुन नसकेको उनले बताइन् । खाद्यले ल्याएका च्याङ्ग्रा कम्तीमा ३० किलो माथिका छन् । सो अनुसार एउटै च्याङ्ग्रा किन्न पनि कम्तीमा ३५ देखि ४० हजार रुपैयाँ पर्छ ।
खाद्यले दशैंमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको प्रतिकिलो १ हजार २५० रुपैयाँ तोकेको थियो । सोचे अनुसार बिक्री नभएपछि कम्पनीले दुईपटक मूल्य घटाएर खसीबोका प्रतिकिलो ५९० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ११५० रुपैयाँ झारेको थियो । अहिले सोही मूल्यमा च्याङ्ग्रा बिक्री भइरहेको उनले बताइन् ।
काठमाडौं उपत्यकामा चिसो बढिसकेकाले च्याङ्ग्रा बिक्न जति ढिला हुन्छ, त्यति समस्या हुने खाद्य कम्पनीले जनाएको छ । चिसो बढ्दै जाँदा च्याङ्ग्राहरू बिरामी पर्नसक्ने र नोक्सानी व्यहोर्नु पर्न सक्ने कम्पनीको भनाइ छ । अहिले च्याङ्ग्रा पालिराख्दा खर्चसमेत बढेको खाद्य कम्पनीले जनाएको छ ।
खाद्यले दशैंमा आम उपझोक्तालाई राहत दिन सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बेच्दै आएको छ । जसले सर्वसाधरणलाई केही राहत पुग्दै आएको छ ।