काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि लगातार उकालो नेप्सेले आज उच्च अंकको छलाङ मारेको हो । पछिल्ला तीन कारोबार दिनमै नेप्से ७७ अंकको फड्को मारेको छ ।
लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले १८०० विन्दुको मनोवैज्ञानिक विन्दुमा टेवा पाएर फर्किएको हो । पछिल्लो समय वित्तीय सूचकहरु सेयर बजार अनुकूल हुँदा पनि बजारले लय समात्न सकेको थिएन ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ भने ब्याजदर पनि घट्दो क्रममा छ । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग नहुँदा सहजै ऋण पाउने अवस्था छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले नीतिगत कडाइहरु खुकुलो बनाउँदै लगेको छ । यद्यपि, सेयर बजारले गति लिन सकेको थिएन ।
आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ विन्दुमा पुगेको छ । यसदिन २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच भएको छ ।
आज २ अर्ब १ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यो २ महिना यताकै धेरै हो । आज कारोबारमा आएका मध्ये २१४ कम्पनीको मूल्य बढेको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.४४ प्रतिशतले बढेको छ ।
आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक किनबेच भएको छ । यसको साढे ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
उच्च अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढे्को छ ।
त्यसैगरी, जिय लघुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी र मैलुङखोला जलविद्युत्का सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।