काठमाडौं । देशकै पहिलो ग्वार्को फ्लाइओभर निर्माणले गति लिएको छ । काम सुरू भएको एक वर्षसम्म खासै गति लिन नसकेको आयोजनाले गत भदौमा डिजाइन परिवर्तनपछि भने तीव्रता पाएको हो ।
पहिलाको डिजाइनमा त्रुटी भएको भन्दै निर्माण कम्पनीले कामकै दौरान डिजाइन संशोधन गरेको थियो । संशोधित डिजाइन सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रले गत भदौ १० गते स्वीकृति गरेपछि फ्लाइओभर निर्माणले गति लिएको हो ।
अहिले फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । दिनरात गरेर दैनिक २१ घण्टासम्म काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।
गुणस्तर अनुसन्धान विकास केन्द्रका अनुसार अहिले एकैसाथ पाइल बनाउने, फ्लाइओभरको माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) बनाउने काम भइरहेको छ । साथै, र्याम्प बनाउन आवश्यक तयारी पनि भइरहेको विकास केन्द्रका डिभिजन इन्जिनीयर राकेश महर्जनले बताए ।
ग्वार्को फ्लाइओभरको निर्माण चाँडै सकेर जेठ भित्र गाडी गुडाउने गरी काम भइरहेको उनले बताए । फ्लाइओभर निर्माण्को म्याद यही फागुन महिनासम्म मात्र रहेको छ । डिजाइन मोडिफाइका कारण केही ढिला भए पनि निर्माणको काम आगामी वैशाख भित्रै सकिने उनले बताए ।
‘निर्माणको काम वैशाखसम्ममा सकिन्छ होला, जेठभित्र गाडी गुडाउन मिल्ने गरी काम भइहेको छ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।
हालसम्म फ्लाइओभरमा दुवै साइडमा १२/१२ वटा गरी २४ वटा पाइल राख्ने काम सकिसकेको छ । ढलानका लागि डण्डी बाँध्ने काम भइरहेको उनले बताए । सुरूमा दुवैतर्फ गरेर ८ वटा पाइल हाल्ने गरी डिजाइन गरिएको यो फ्लाइओभरको हाल १२/१२ वटा गरी २४ वटा पाइल राखेर बन्ने गरी संशोधन गरिएको छ ।
उनका अनुसार फ्लाइओभरको र्याम्पको काम समेत आउँदो ३ हप्तामा सुरू गरिनेछ । र्याम्प बनाउन दायाँबायाँ वाल लगाएर बीचमा माटो भरेर माथि ल्याउने काम गरिने छ ।
हाल यस आयोजनामा ३५ जना जनशक्तिले काम गरिरहेका छन् । निर्माण व्यवसायीले सुरूको मोबिलाइजेसन बाहेक अरू रकम माग गरेको छैन ।
१७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी एम÷एस आशिष–समानान्तर जेभीले ठेक्का पाएको छ । काम सुरू भएको २ वर्षमा निर्माण सक्ने गरी निर्माण भइरहेको छ । ४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ ।
फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । जसमा डिजाइनदेखि निर्माणसम्म ठेकेदार कम्पनीले नै गर्छ ।