कर्जा लगानी सुस्त : अझै बढेन ऋणको माग, जोखिम मोल्न चाँहदैनन् बैंक

काठमाडौं । गत वर्षदेखि सुस्ताएको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी यस वर्ष पनि सोही लय समातेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानी योग्य रकम पर्याप्त छ । ब्याजदर पनि घट्दो क्रममा छ । तर, कर्जाको माग नहुँदा लगानी भने बढ्न सकेको छैन ।

यतिबेला चाडवाडको सिजन सकिएको छ । विगतका वर्षहरूमा दशैं, तिहारपछि कर्जाको माग बढ्ने गर्थ्यो । तर, आर्थिक शिथिलताका कारण बजारमा ऋणको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले यस वर्ष पनि लक्ष्य अनुसार व्यवसाय विस्तार गर्न सकेका छैनन् । चालु आवको ४ महिनामा लक्ष्यको १७.५ प्रतिशत मात्र कर्जा लगानी भएको छ । त्यस्तै, गत असारको तुलनामा कर्जा लगानी २ प्रतिशत मात्र बढेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले यस वर्ष ५ खर्ब ६० अर्ब कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, चालु आवको चार महिना बित्दा १ खर्ब पनि कर्जा लगानी गर्न सकेका छैनन् ।

राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिना (साउन–मंसिर ७ गतेसम्म) ९८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा मंसिर पहिलोसाता आइपुग्दा बढेर ४९ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्षदेखि अर्थतन्त्रमा देखिएको संकटका कारण माग र आपूर्तिमा असन्तुलन देखिएपछि वित्तीय संस्थाको व्यवसायमा समेत त्यसको प्रभाव देखिन थालेको छ ।  आर्थिक शिथिलता अझै नहटेकाले लगानीयोग्य रकम थुप्रिए पनि जोखिम मोलेर बैंकहरूले लगानी गर्न नचाहेको बैंकरहरू बताउँछन् ।

‘प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ । पहिलेकोभन्दा केही माग पनि बढ्दै गएको देखिन्छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘तर, अहिले बैंकहरूले खासै ऋण दिन चाहेका छैनन् । वित्तीय अवस्था खराब देखिएको छ  भने  कर्जा लगानीको जोखिम बढी  छ । त्यसैले  बैंक अब पर्ख र हेरको अवस्थामा छन् ।’ समग्र अर्थतन्त्रको अवस्था वित्तीय क्षेत्रमा देखिएकाले अर्थतन्त्रका अन्य सूचक सुधार हुँदै जाँदा लगानी वृद्धि हुने उनको भनाइ छ ।

हाल बैंकिङ प्रणालीमा ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम हुँदा समेत कर्जा लगानी बढ्न सकेको छैन । राष्ट्र बैंकका अनुसार अहिले समग्र निक्षेप कर्जाको अनुपात औसतमा ८१.०५ प्रतिशत रहेको छ । यसले प्रणालीमा पर्याप्त लगानीयोग्य रकम थुप्रिएको देखाउँछ । बैंकहरूले ९० प्रतिशतको सीडी अनुपातसम्म ऋण लगानी गर्न पाउने व्यवस्था छ ।

बैंकहरूको व्यवसयमा आएको लगानी शिथिलताको असर उनीहरूको वित्तीय विवरणमा देखिएको छ । चालु वर्षको पहिलो त्रैमासमा संस्थाहरूको खुद नाफा १८ प्रतिशतले घटेको छ । अघिकांश विकास बैंकको नाफामा पनि उच्च गिरावट आएको प्रकाशित वित्तीय विवरणले देखाउँछ ।

बैंकको खराब कर्जा दोब्बर बढीले वृद्धि भएको छ । गत वर्ष १.६६ प्रतिशत रहेको निष्कृय कर्जा १.७३ प्रतिशतले वृद्धि भएर पहिलो त्रैमाससम्म ३.४० प्रतिशत पुगेको छ । यसले बैंकको ऋण लगानी उठ्न नसकेको देखाउँछ ।

बैंकहरूको खराब कर्जा वृद्धि हुँदा प्रोभिजनिङ पनि बढेको छ । यही कारण बैंकहरूले अहिले कर्जाको माग सामान्य बढे पनि ऋण दिन मानिरहेका छैनन् । संस्थाको वित्तीय विवरणमा देखिएका खराब अवस्था र बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधिले कर्जा लगानीका लागि बैंकहरूलाई झस्काएको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

प्रणालीमा तरलता थुप्रिँदै गएपछि ब्याजदर घट्दै गएको छ । अहिले वाणिज्य बैंकको आधादर एकल अंकमा छ भने कर्जाको ब्याजदर सस्तो हुँदै गएको छ ।

तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात Read Previous

तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा Read Next

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा