चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात, कुन महिनामा कति ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।

विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो ४ महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी रु सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।

प्राधिकरणले साउनमा रु २ अर्ब १४ करोड ७६ लाख, भदौमा रु ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा रु ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु २ अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको छ ।

चार महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट ९.१८ रुपैयाँ छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्ये पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

जनता र लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल Read Previous

जनता र लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने Read Next

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने