काठमाडौं । लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेका छन् । नेप्से परिसूचक २७ महिना यताकै तल्लो बिन्दुमा आउँदा अधिकांश कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो भएपछि लगानीकर्ताहरूले धमाधम बैंकबाट ऋण लिएर सेयर किन्न थालेका हुन् ।
२ वर्षको अवधिमा नेप्से परिसूचक ५ पटक १८०० विन्दु हाराहारीमा आइसकेको छ । यसअघि नेप्से तल्लो विन्दुमा आउँदा खासै सेयर नकिनेका लगानीकर्ताले यसपटक भने ऋण लिएरै सेयर उठानका थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ३ महिना (साउन–असोज)मा झन्डै ५ अर्ब सेयर कर्जा लगानी भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ८७ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका हुन् ।
चालु आवको पहिलो त्रैमासमा सेयर धितो कर्जा ६.३८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा असोज मसान्त आइपुग्दा बढेर ८१ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
गत आव २०७९/८० मा यस्तो प्रकृतिको कर्जा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड रुपैयाँमा सिमित भएको थियो ।
तर, यस वर्ष भने पहिलो त्रैमासका सबै महिना बढेको छ । साउनमा १० करोड रुपैयाँले वृद्धि भएको सेयर धितो कर्जा भदौमा १ अर्ब २७ करोड रुपैयाँले वृद्धि भएको तथ्यांकले देखाउँछ । असोजमा मात्रै ३ अर्ब ३२ करोड रुपैयाँ सेयर धितो कर्जा बढेको छ ।
नीतिगत लचकता र तरलताको प्रभाव
बैंकिङ प्रणालीमा थुप्रिएको तरलता र घट्दो ब्याजदरले ऋणको माग बढ्दा सेयर धितो कर्जा वृद्धि भएको हो । साथै, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा केही लचकता अपनाउँदा पनि कर्जा लगानी बढेको हो ।
त्यस्तै, पछिल्लो समय अर्थतन्त्रको बाह्य सूचकहरूमा लगातार सुधार आइ मजबुत अवस्थामा पुगेका छन् भने आन्तरिक सूचकहरूमा पनि झिनो सुधार आएको छ । यसले लगानीकर्ताको मनोबल उकास्न भूमिका खेलेको देखिन्छ । सेयर बजार २ वर्षकै न्यून विन्दुमा आएको र अब अर्थतन्त्र क्रमशः सुधार हुँदै जाने अपेक्षाले लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेका हुन् ।
राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकूश हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो ।
राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिबाट सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले यसअघि २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ ।
अहिले ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत नै कायम छ । सेयर धितो कर्जामा राष्ट्र बैंकले गरेको केही खुकुलो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको ऋण लगानी बढाएको देखिन्छ ।
ब्याजदर, तरलता र सेयर मूल्य लगायतका सूचकहरू बजार अनुकूल हुँदा बैंकबाट ऋण लिएर सेयर किन्ने बढेका छन् ।अहिले बैंकिङ प्रणालीम अधिक तरलता छ । बैंकहरूसँग झन्डै ५ खर्ब लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेको छन् । अधिकांश बैंकले कात्तिक र मंसिरमा लगातार निक्षेपको ब्याजदर घटाए । जसको प्रभाव अब कर्जाको ब्याज पनि क्रमशः घट्दै जानेछ । अधिकांश कम्पनीको सेयर मूल्यमा अहिले व्यापक गिरावट आएको छ ।
अहिले कतिपय कम्पनीको सेयर मूल्य झन्डै आइपीओकै हाराहीमा छ । मूल्य सस्तिएका बेला ऋण लिएरै भए पनि सेयर किन्न थालेको लगानीकर्ताहरू बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाबाट बढिरहेको सेयर धितो कर्जाको मागले पनि ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरू बढेको देखाउँछ । चालु वर्षको पहिलो त्रैमासमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ११ प्रतिशतले बढेको छ । २५ लाख रुपैयाँ भन्दा कम सेयर धितो कर्जा ५.२ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । अहिले साना लगानीकर्ता समेत बैंकबाट ऋण लिएर सेयर खरिद गर्न थालेको तथ्यांकले बताउँछ ।