अपर तामाकोशीको खुद नाफा २६ प्रतिशत बढ्यो, रिटेन्ड अर्निङ भने सवा ६ अर्ब ऋणात्मक

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको खुद नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा २६.२६ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्म कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २१ करोड बढी हो । कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ७९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा, कर्मचारी सञ्चालन खर्च र वित्तीय लागत घट्दा नाफामा सुधार आएको हो ।

यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १५ करोड रुपैयाँ बढेको छ । गत वर्ष ३ महिनामा ३ अर्ब ५६ करोड रुपैयाँको बिजुली बेचेको कम्पनीले चालु आवको सोही अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँको बेचेको छ ।

समीक्षा अवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च ११ करोड १८ लाख रुपैयाँबाट घटेर ८ करोड २७ लाख रुपैयाँमा झरेको छ । यस्तै, वित्तीय लागत १ अर्ब ६१ करोडबाट घटेर १ अर्ब ५९ करोडमा झरेको छ ।

हाल १५ अर्ब ९९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ । हाल कम्पनीको ७३ अर्ब रुपैयाँ दीर्घकालीन र ३ अर्ब ३ करोड अल्पकालीन ऋण रहेको छ ।

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७३ रुपैयाँबाट घटेर ६.३० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६०.९७ रुपैयाँ छ ।

कम्पनीले २०७८ भदौ २५ गतेदेखि दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन गरिरहेको छ ।

कात्तिकमा ३५ प्रतिशत घट्यो घरजग्गा कारोबार, राजस्व आधा घट्यो Read Previous

कात्तिकमा ३५ प्रतिशत घट्यो घरजग्गा कारोबार, राजस्व आधा घट्यो

४ महिनामा ३ खर्ब ५५ अर्ब बजेट खर्च, पूँजीगत खर्च ३० अर्ब मात्रै Read Next

४ महिनामा ३ खर्ब ५५ अर्ब बजेट खर्च, पूँजीगत खर्च ३० अर्ब मात्रै