काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा घरजग्गा भारी गिरावट आएको छ । असोजको तुलनामा कात्तिकमा घरजग्गा कारोबार ३४.५९ प्रतिशतले घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार कात्तिकमा देशभरका मालपोत कार्यालयबाट २६ हजार २६ वटा घरजग्गा किनबेच (लिखत पारित) भएको छ । यो असोजको तुलनामा १३ हजार ७६७ वटा कम हो । असोजमा ३९ हजार ७९३ घरजग्गा किनबेच भएको थियो ।
सरकारी नीतिगत सहजताका कारण असोजमा केही सुधार आएको घरजग्गा कारोबार कात्तिकमा गिरावट आउनुमा दशैं, तिहार जस्ता चाडपर्व कारण रहेको व्यवसायीहरू बताउँछन् । कात्तिकमा झन्डै आधा महिना सरकारी बिदा परेकाले कारोबार सुस्ताएको उनीहरूको भनाइ छ ।
चालु आवको पहिलो महिना साउनमा ४९ हजार २६३ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, भदौमा ३५ हजार ६८६ र असोजमा ३९ हजार ७९३ घरजग्गा किनबेच भएको थियो ।
२०७९ जेठमा सरकारले भूउपयोग नियमावली लागू गरे यता घरजग्गा कारोबारमा चरम मन्दी आएको थियो । घरजग्गा कारोबार घट्दा समग्र अर्थतन्त्र नै मन्दीमा गएको भन्दै पछिल्लो समय सरकारले नीतिगत लचकता अपनाएको छ ।
सरकारले गत साउन अन्तिम साता भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत घरजग्गा कारोबारमा सुधार ल्याउन व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको छ ।
त्यसपछि पनि राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा लचकता अपनाउँदै लगेको छ । राष्ट्र बैंकले यही असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको छ । यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।
यस्तै, राष्ट्र बैंकले काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जाको धितो सरुक्षण मा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको छ । तर, बैंकहरूले निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीरपरियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्नेछन् ।
यसअघि यस्तो सीमा ४० प्रतिशत थियो । यी व्यवस्थाले पनि घरजग्गा क्षेत्रमा कर्जा लगानी गर्न केही सहज हुने र कारोबार बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, यस नीतिको असर देखिन अझै केही समय लाग्नेछ ।
घरजग्गा व्यवसायमा नीतिगत लचकता अपनाइए पनि समग्र अर्थतन्त्र चलायमान हुन नसक्दा कारोबार बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । साथै, अहिले बैंकको ब्याजदर महँगो रहेको र घरजग्गा किनबेचको अफसिजन समेत भएकाले कारोबारमा सुधार आउन नसकेको उनीहरूको भनाइ छ ।
आधा घट्यो राजस्व संकलन
कात्तिकमा घरजग्गा किनबेच घटेसँगै राजस्व संकलनमा पनि उच्च गिरावट आएको छ । विभागका अनुसार असोजको तुलनामा कात्तिकमा राजस्व संकलन आधाभन्दा धेरैले घटेको छ ।
असोजमा सरकारले घरजग्गा कारोबार बापत ४ अर्ब ४३ करोड ५४ लाख राजस्व संकलन गरेकोमा कात्तिकमा घटेर २ अर्ब १६ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।
कात्तिकमा सेवा करबापत २० करोड १५ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर १ अर्ब ३७ करोड ८ लाख रुपैयाँ र पूँजीगत लाभकरबापत ७७ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । घरजग्गा कारोबार बापत सरकारले भदौमा ३ अर्ब ६ करोड रुपैयाँ राजस्व उठाएको थियो ।