 
			नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ र मध्यम अण्डाको प्रति क्रेट १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट रु २०० र मध्यम अण्डाको प्रति क्रेट ११५ पाउँदै आएका थिए । सङ्घका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए । जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो । अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरु लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए ।
कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य १० पर्न जान्छ तर कृषकले सातमा वितरकलाई बिक्री गर्दै आएका थिए । यो अण्डा बजारमा एउटाको १५ मा पाइन्छ । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा सङ्लग्न छन् । देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउछन् । यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                