प्रकाशनको १६ वर्षपछि प्रिन्टबाट डिजिटलमा
चाणक्य पोष्ट
प्रकाशित : 11:59 am, आइतबार, असार १५, २०७६

नेपालमा आर्थिक पत्रकारिताको सुरुवात कहिलेबाट भयो, त्यो एकिन गर्ने तथ्यहरू त हामीसँग छैन । तर, हामी १६ वर्ष अगाडि आर्थिक पत्रिका चाणक्य मासिकको रुपमा आउँदा बजारमा आर्थिक समाचार सर्वसाधारण जनताले बुझ्ने भाषामा लेख्ने पत्रिका थिएनन् भन्न सकिन्छ । १६ वर्षको दौरानमा हामीले नेपाली अर्थतन्त्रलाई नजिकबाट नियाल्ने मौका पायौं ।

 

जनयुद्धले चरम रुप धारण गरिरहेको समयमा आर्थिक पत्रकारिताको थालनी गर्न कम्ती चुनौतीपूर्ण थिएन, त्यो कुरा अहिले भनिरहनुको अर्थ नहुन सक्छ । तथापि, समाचारका लागि कोट लिन सरकारी व्यक्तित्व र निजी क्षेत्रका अगुवाहरू तयार हुँदैन थिए । आज त्यही तह र तप्काका व्यक्तित्वहरू कुनै हिचकिचाहट विना बोल्न तयार हुन्छन् । यसले के देखाउँछ भने पछिल्लो दशकदेखि नेपाली आर्थिक पत्रकारिताको निकै विकास भएको छ । अहिले तीनवटा दैनिक पत्रिकाहरू आर्थिक समाचारलाई मुख्य विषयवस्तु बनाएर चलिरहेका छन् भने बजारमा एकदर्जन भन्दा बढी अनलाईन पोर्टलहरु आर्थिक विषयलाई केन्द्रमा राखेर संचलन भइरहेका छन् ।

 

सशस्त्र द्वन्द्व, शाही कु र राजनीतिक दलको आन्दोलनले आक्रान्त बनेको मुलुकमा वित्तीय बजारको समाचार सम्प्रेषण गर्ने उद्देश्य हामीले बनाएका थियौं । पुँजी बजार र बीमा क्षेत्रसमेत सुरुदेखि नै हाम्रो प्राथमिकतामा थिए । ०६२/६३ को जनआन्दोलनपश्चात् यसअघि नै राज्यले अंगीकार गरेको खुल्ला बजार अर्थनीतिका कारण हामीले पनि निजी क्षेत्रको समाचारलाई विशेष प्राथमिकता दिएर प्रकाशन सुरु गर्‍यौं । जति बेला हामीले निजी क्षेत्रलाई प्राथमिकता दिन सुरु गर्‍यौं, त्यति बेला हामीलाई निजी क्षेत्रको मुखपत्रको आरोपसमेत लगाइयो । यस्तो आरोपलाई हामीले बेवास्था गर्दै आफ्नो कामबाट विचलीत नभई निरन्तर अगाडि बढ्यौं ।

 

पछिल्ला वर्षहरूमा हामीले ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, व्यापार, उद्योग, रेमिट्यान्स्, वित्त, बीमालगायतका क्षेत्रमा निरन्तर कलम चलाइरह्यौ । अब हामीले हाम्रो प्रकाशनको माध्यमलाई परिवर्तन गरेका छौं । हिजो पेपरमा प्रिन्ट गर्ने म्यागजिनलाई डिजिटलमा रुपान्तरण गरेका छौं । पछिल्ला ५ वर्षलाई मात्र नियालेर हेर्ने हो भने डिजिटल संचार माध्यमको तिब्र विकास भएको छ । यसबाट हामी अछुतो हुन सकेनौं ।

 

अबका दिन हाम्रो लागि झनै चुनौतीपूर्ण यस अर्थमा रहेको छ कि हिजो हामीले उठान गरेका विषयहरूमा आजसम्म पनि कुनै परिवर्तन हुनसकेको छैन । यस्तो अवस्थामा ती विषयमा निरन्तर फलोअप र निगरानी राख्दै नयाँ क्षेत्रको सम्भावना र चुनौतीका विषयमा नीति–निर्माता र सरोकारवाला निकायलाई आफ्नो प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोग पुर्‍याउनु हाम्रो लक्ष्य रहेको छ । हामीले सधैं नागरिक र सरकारप्रति जिम्मेवार रहँदै आफ्नो भूमिका निस्पक्षरुपमा निभाइरह्यौं, त्यसलाई भोलिका दिनमा अझ प्रभावकारी ढंगबाट अगाडि लाने प्रण गर्दछौँ ।