बैंक र हाइड्रोको सेयर सबैभन्दा सस्तो, यी हुन् २०० रुपैयाँ कममै पाइने ३९ कम्पनी

काठमाडौं । सेयर बजार अहिले २७ महिना यताकै तल्लो बिन्दुमा आएको छ । २०७८ भदौमा इतिहासकै सर्वाधिक ३१९८ विन्दु छोएको नेप्से त्यसयता लगातार घटेर अहिले १८५० विन्दुको वरिपरी घुमिरहेको छ ।

दुई वर्षको अवधिमा नेप्से ५ पटक १८०० विन्दुमा आइसकेको छ । यो विन्दुबाट बढेर २२०० विन्दु पुग्ने अनि फेरि घटेर १८०० हाराहारीमा आउने गरेको छ । पछिल्लो २ वर्षको अवधिमा नेप्से करिब १३०० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै रोकिएको छ ।

नेप्से लगातार घटेसँगै सूचीकृत कम्पनीहरूको सेयर मूल्य पनि २ वर्ष यताकै सस्तो मूल्यमा आएका छन् । नेप्सेमा विभिन्न १३ समूहका २४० बढी कम्पनी सूचीकृत छ । तीमध्ये झन्डै साढे ३ दर्जन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ । नेप्सेले कीर्तिमानी सर्वाधिक विन्दुको रेकर्ड बनाउँदा अधिकांश कम्पनीको न्यूनतम सेयर मूल्य नै प्रतिकित्ता ३५० रुपैयाँ माथि थियो ।

नेप्सेमा विभिन्न १३ समूहका कम्पनीहरू सूचीकृत छ । तीमध्ये वाणिज्य बैंक र हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य सबैभन्दा सस्तो छ । तुलनात्मक रुपमा उत्पादनमूलक कम्पनी, माइक्रोफाइनान्स, बीमा कम्पनी, फाइनान्स कम्पनीको सेयर मूल्य धेरै रहेको छ ।

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ८ बैंकको सेयर भाउ प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ । हाइड्रोपावर कम्पनीको तुलनामा सेयरधनीलाई लाभांश दिने भए पनि धेरै पूँजी भएका कारण वाणिज्य बैंकहरूको सेयर मूल्य सस्तो भएको हो ।

त्यस्तै, नेप्सेमा सूचीकृत ८७ वटा हाइड्रोपावर मध्ये २८ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छन् । तुलनात्मक रुपमा सेयरधनीलाई लाभांश नदिने कम्पनीमा पर्छन् हाइड्रोपावर । त्यस्तै, अरु समूहका कम्पनीकोभन्दा हाइड्रोपावरहरूको वित्तीय अवस्था पनि कमजोर छ । सूचीकृत ८७ कम्पनी मध्ये आधा बढी घाटामा छन् । तर, धेरै चलखेल हुने हाइड्रोको सेयर मूल्य बिना आधरै ह्वात्तै बढ्ने र घट्ने गरेका छन्

वित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीको सेयर भाउ घट्दो बजारमा लगातार घटेको हो । केही कम्पनीको सेयर मूल्य २ वर्षको अवधिमै ७५ प्रतिशतसम्म घटेको छ ।

यी हुन् २०० रुपैयाँभन्दा कममा पाइने कम्पनी

नेप्सेमा सूचीकृत कम्पनी मध्ये हाल ३९ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा ८ वाणिज्य बैंक, २८ हाइड्रोपावर, २ लगानी समूहका र एउटा लघुवित्त समूहका छन् ।

वाणिज्य बैंकतर्फ कुमारी, प्रभु, सिटजन्स, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी सनराइज, प्राइम कमर्शियल, माछापुच्छ्रे र हिमालयन बैंकको सेयर भाउ २०० रुपैयाँभन्दा कम छ । जसमा सबैभन्दा सस्तो कुमारी बैंकको प्रतिकित्ता १५१.७ रुपैयाँ मात्रै छ ।

यसैगरी, लगानी समूहका हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ ।

लघुवित्त समूहको समाज लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँभन्दा पनि कम छ । यद्यपि, यसको सेयर मूल्य घटेको नभई न्यून मूल्यमा कारोबार खुलेको र नियमित कारोबार हुन नसक्दा नबढेको हो । नेप्सेमा सूचीकृत लघुवित्तहरूको न्यूनतम सेयर मूल्य नै प्रतिकित्ता ५०० रुपैयाँ माथि छ ।

यस्तै, नेप्सेमा सूचीकृत समूहमध्ये सबैभन्दा धेरै सस्ता कम्पनी हाइड्रोपावर समूहका छन् । यस समूहका २८ कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । केहीको त झन्डै आइपीओकै हाराहारीमा आएको छ । जसमा हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा सस्तो प्रतिकित्ता १२० रुपैयाँ मात्र छ ।

यसैगरी, नेशनल, घलेम्दी, शिवश्री, दिव्यश्वरी, लिबर्टी इनर्जी र आँखुखोलाको सेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँभन्दा कम छ । मोदी इनर्जी, यूनियन, अरुण काबेली, सिनर्जी पावर, पञ्चकन्या माइ, अपि पावर, खानीखोला, युनिभर्सल पावर र युनाइटेड मोदीको सेयर मूल्य १५० देखि १७५ रुपैयाँ बीचमा छ ।

यस्तै, माउन्टेन, जोशी, रिडी पावर, मनकामना इन्जिनीयरिङ, मोलुङ, न्यादी, अपर तामाकोशी, ङादी, हिमालयन, भूगोल इनर्जी, दोल्ती पावर र राप्ती हाइड्रोको सेयर मूल्य १७५ रुपौँदेखि २०० रुपैयँको बीचमा छ ।

भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने Read Previous

भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने

एआइले खोस्दै मानिसको जागिर, दक्षिण कोरियामा ४० लाखको रोजगारी जोखिममा Read Next

एआइले खोस्दै मानिसको जागिर, दक्षिण कोरियामा ४० लाखको रोजगारी जोखिममा