बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

काठमाडौं । नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको सीएनआईका उपाध्यक्ष हेमराज ढकालले जानकारी दिए ।

उनका अनुसार पूर्ण कार्यान्वयन भएका बुँदा मात्र ११ (१८ प्रतिशत) रहेको छ । २९ वटा बुँदामा भने आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ । यो ४७ प्रतिशत हो ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि भने सीएनआईएले बजेटका कुल ७३ वटा बुँदामा बजेट वाच गर्दैछ । जसमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित प्राथमिकता प्राप्त बुँदा समेटिएका छन् । जसलाई ६ वटा क्षेत्रमा वर्गिकरण गरिएको छ ।

सीएनआईका अनुसार यस वर्ष ऊजा (जलविद्युत), पर्यटन तथा हस्पिटालिटी, सूचना प्रविधि, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य, कृषि, औषधीजन्य तथा सुगन्धित वनस्पती र खानी तथा खनिज रहेका छन् ।

अपेक्षित विदेशी लगानी भित्राउन नसकिएको स्वीकारोक्ति

यसै सन्दर्भमा सीएनआईले शुक्रबार राजधानीमा लगानी प्रवद्र्धनसम्बन्धी बुँदामा आधारित रहेर बजेटको समीक्षा गरेको छ । समिक्षा कार्यक्रममा सहभागीहरुले नेपालमा अपेक्षित वैदेशिक लगानी भित्रन नसकेको स्वीकार गरेका छन् ।

सीएनआईका अध्यक्ष राजेश अग्रवाललले बजेटमा राम्रा योजना आएपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए । बजेट कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च समेत कमजोर हुने गरेको उनको भनाइ छ ।

मुलुकको आर्थिक रुपान्तरणका लागि लगानी बढाउनुपर्ने भन्दै उनले दीगो विकास लक्ष्यका लागि चाहिने वार्षिक २० खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक क्षमताले नभ्याउने भन्दै विदेशी लगानी चाहिएको उल्लेख गरे । यस वर्षको बजेटमा लगानी प्रवद्र्धनसँग सम्बन्धित ८ वटा बुँदा रहेको र यसको कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

‘बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनबाट विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, समग्र बजार मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउन सकिने हाम्रो विश्वास छ,’ उनले भने ।

तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव Read Previous

तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव

४ वर्षपछि कोरला नाका संचालनमा आउँदै, कर्मचारी र प्रहरीका लागि अस्थायी संरचना तयार Read Next

४ वर्षपछि कोरला नाका संचालनमा आउँदै, कर्मचारी र प्रहरीका लागि अस्थायी संरचना तयार