फाष्ट ट्रयाकमा सुरुङ निर्माणले गति लिँदै, दुईटा वैशाख भित्रै ‘ब्रेक थ्रु’ हुने

काठमाडौं–तराई/मधेस द्रुतमार्गमा निर्माणधीन सुरुङमार्ग ।

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)मा निर्माणाधीन सुरुङमार्गको कामले गति लिएको छ । गत वर्षदेखि खन्न थालिएको ३ वटा सुरुङको समग्रमा आधा काम सकिएको हो ।

नेपाल सेनाका ब्रिगेडियन जेनेरल तथा सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार हालसम्म सुरुङ खन्ने काम ४९.१६ प्रतिशत सम्पन्न भएको छ ।

फास्ट ट्रयाकको धेद्रे, लेनडाँडा र महादेवटारमा अहिले धमाधम सुरुङ खन्ने काम भइरहेको छ । जसमा महादेवटारमा ३.४ किलोमिटर लामो सुरुङ खन्नुपर्नेमा हालसम्म १.४९० किलोमिटर सुरुङ खनिसकिएको उनले जानकारी दिए ।

त्यसैगरी, १.४३ किलोमिटर लामो लेनडाँडा सुरुङमार्गमध्ये हालसम्म ८५७ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । धेद्रेमा १.६३ किलोमिटर लामो सुरुङ खन्नुपर्नेमा ८०६ मिटर खन्ने काम सकिएको उनले बताए ।

निर्माणाधीन ३ वटा सुरुङमध्ये लेनडाँडा र धेद्रे सुरुङ सन् २०२४ को अप्रिल अन्तिम (चैत्र/वैशाख)सम्म ब्रेक थ्रु हुने प्रवक्ता भण्डारीले बताए ।

‘अहिले निर्माण कम्पनीले सुरुङ खन्ने कामलाई तीव्रता दिएको छ । दैनिक काम २ सिफ्टमा भइरहेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘यही गतिमा काम भए वैशाखभित्रै लेनडाँडा र धेद्रेको सुरुङको ब्रेक थ्रु हुन्छ । चिनियाँले अप्रिलसम्ममा काम सक्छौं भनेका छन् ।’

यी दुई सुरुङमार्ग निर्माण चिनियाँ कम्पनी पोली चाङडा इन्जिनेरिङ गरिरहेको छ । सुरुङमार्गमा दैनिक १५० जना जनशक्ति कार्यरत छन् ।

यस्तै, प्याकेज १ अन्तर्गत महादेवटारमा पनि सुरुङ निर्माणले गलि लिएको छ । फाष्ट ट्रयाक निर्माणाधीन मध्ये यो सबैभन्दा लामो सुरुङ हो । आगामी आर्थिक वर्ष भित्र यसको पनि काम पूरा हुने लक्ष्य राखिएको छ । यसमा पनि दिन र रात गरेर २ सिफ्टमा काम भइरहेको छ ।

थप ३ वटा सुरुङमार्ग ठेक्का प्रक्रियामा

फाष्ट ट्रयाक अन्तर्गत नै थप ३ सुरुङ निर्माण हुने भएका छन् । आयोजना अन्तर्गत देवीचौर, सिसौटार र चन्द्राम भीरमा सुरुङ निर्माणका लागि ठेक्का आह्वान भइसकेको सूचना अधिकारी भण्डारीले बताए ।

अबको २/३ महिना भित्रै थप ३ सुरुङ निर्माणको ठेक्का लाग्ने उनले बताए । चालु आवभित्रै ती सुरुङ निर्माण सुरू गर्ने उनले बताए । उनका अनुसार देवीचौरमा १ किलोमिटर, सिसौटारमा ०.३९ किलोमिटर र चन्द्राम भीरमा २.२५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । ३ वटा नयाँ सुरुङ थपिएसँगै फास्ट्रयाकमा कुल सुरुङमार्गको लम्बाइ १०.०५५ किलोमिटर पुग्नेछ ।

आयोजनाको हालसम्म करिब एकचौथाई काम सकिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि निर्माण सुरु गरिएको यस आयोजनाको २७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएकै सममा काम सम्पन्न नहुने भएपछि हालै म्याद थपिएको छ । थपिएको म्याद अनुसार अब २०८३ सम्म सम्पन्न गर्नुपर्नेछ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको संशोधित लम्बाइ ७०.९७७ किलोमिटर छ । पुरानो डीपीआर अनुसार फास्ट ट्रयाकको कुल लम्बाइ ७२.७२९ किलोमिटर रहेको थियो ।

आयोजनाको संशोधित अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड ररुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, १७५ कम्पनीको मूल्य घट्यो Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, १७५ कम्पनीको मूल्य घट्यो

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह Read Next

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह