काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका बाबजूद जीवन बीमा व्यवसायमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमा शुलक आर्जन गत वर्षको सोही अवधिको तुलनामा १४.०६ प्रतिशतले बढाउन सफल भएका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल ४० अर्ब ८० करोड रुपैयाँ कुल प्रिमियम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब २ करोड रुपैयाँ बढी हो । गत वर्ष पहिलो त्रैमासमा बीमा कम्पनीहरूले ३५ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
यद्यपि, कुल बीमा शुल्क संकलन बढे पनि प्रथम बीमा शुल्क आर्जन भने ५.३० प्रतिशत अर्थात ३७ करोड रुपैयाँले घटेको छ । नवीकरण शुल्क बढ्दा बीमा कम्पनीहरूको समग्र व्यवसायमा सुधार देखिएको तथ्यांकले देखाउँछ ।
| चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीले संशलन गरेको कुल बीमा शुल्क रु लाखमा | |||
| कम्पनी | २०८० असोज | २०७९ असोज | फरक % |
| राष्ट्रिय बीमा संस्थान | 40,560.24 | 11,167.29 | 263.21 |
| नेशनल लाइफ इन्स्योरेन्स | 41,926.25 | 43,804.08 | -4.29 |
| नेपाल लाइफ इन्स्योरेन्स | 109,501.73 | 100,488.09 | 8.97 |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | 45,078.23 | 45,174.74 | -0.21 |
| मेट लाइफ | 13,667.09 | 13,101.79 | 4.31 |
| एशियन लाइफ इन्स्योरेन्स | 18,690.28 | 17,434.69 | 7.20 |
| आइएमई लाइफ | 11,002.15 | 8,714.59 | 26.25 |
| सन नेपाल लाइफ | 8,864.06 | 10,081.02 | -12.07 |
| रिलायबल नेपाल लाइफ | 10,128.67 | 8,931.80 | 13.40 |
| सिटिजन लाइफ | 15,045.10 | 14,711.01 | 2.27 |
| सुर्यज्योती | 23,046.06 | 22,763.58 | 1.24 |
| सानिमा रिलायन्स | 15,186.18 | 13,705.83 | 10.80 |
| हिमालयन लाइफ | 43,804.26 | 38,264.50 | 14.48 |
| प्रभु महालक्ष्मी लाइफ | 11,515.89 | 9,425.58 | 22.18 |
| जम्मा | 408,016.19 | 357,768.59 | 14.04 |
कम्पनीहरूको बीमालेख संख्या घट्दा प्रथम बीमा शुल्क घटेको तथ्यांकले देखाउँछ । यस वर्षको पहिलो तीन महिनामा बीमा कम्पनीको १८ हजार ४०६ ले घटेको हो । गत वर्षको असोजसम्म १ करोड ३८ लाख ८३ हजार कुल सक्रिय बीमा लेख रहेकोमा यस वर्षको सोही अवधिमा १ करोड ३८ लाख ६४ हजार सक्रिय बीमा लेखको संख्या रहेको छ ।
कुनले कति गरे बीमा शुल्क संकलन ?
कुल बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै हिस्सा रहेको छ । यस कम्पनी एक्लैले कुल जीवन बीमा व्यवसायको झन्डै एकतिहाई हिस्सा ओगटेको छ । पहिलो त्रैमासमा कम्पनीले १० अर्ब ९५ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार सबैभन्दा आक्रामक व्यवसाय बढाउनेमा राष्ट्रिय बीमा संस्थान पहिलो स्थानमा छ । यस कम्पनीले गत वर्ष १ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा २२३ प्रतिशतले वृद्धि गरेर ४ अर्ब रुपैयाँ पुर्याएको छ ।
असोज मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसनले ४ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । नेशनल लाइफ, हिमालयन लाइफले ४/४ अर्ब रुपैयाँ बढीले प्रिमियम संकलन गरेका छन् ।
सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी, सूर्यज्योती २ अर्ब ३० करोड, मेटलाइफ, एसियन लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ, सिटिजन, सानिमा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १/१ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेका छन् ।