काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुला हुने मिति परिवर्तन भएको छ ।
कम्पनीले यसअघि कात्तिक २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले आइपीओ निष्काशन दुई सातापछि सार्दै अब मंसिर ४ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।
भोलिदेखि आइपीओ बिक्री खुला गर्दा बीचमा तिहारको बिदा परेकाले लगानीकर्ताको सहजताका लागि आइपीओ निष्कासनको मिति पछि सारिएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटले जनाएको छ ।
तथापि, संघीय संसदको सार्वजनिक लेखा समितिले आइतबार तत्काल कम्पनीको आइपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन दिएको थियो । साथै, समितिले कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ बिक्रीको अनुमति दिने नियामक निकाय बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले ३० लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।
लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता सेयर आरक्षित गरेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ए’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।