काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको आपतकालीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ भइसकेको छ भने मुख्य सुरुङ पनि अब दुई महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।
नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार मुख्य सुरुङ खन्ने काम अब २४१ मिटर मात्र बाँकी रहेको छ । कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २ हजार ४४७ मिटर सुरुङ खनिसकिएको आयोजनाका प्रवक्ता रमेशप्रसाद कोइरालाले जानकारी दिए ।
उनले अहिले दैनिक ५ देखि ६ मिटर सुरुङ खन्ने काम भइरहेको बताए । यही गतिमा सुरुङ खन्दा अबको २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने उनले बताए ।
‘अब २४१ मिटर मात्र सुरुङ खन्न बाँकी छ । अहिले दैनिक ५÷६ मिटर सुरुङ खन्ने काम भइरहेको छ । चाँडोमा मंसिर अन्तिम र ढिलोमा पुससम्म मुख्य टनेलको ‘ब्रेक थ्रु’ गर्ने छौँ,,’ उनले चाणक्य पोष्टसँग भने ।
आयोजनाको काठमाडौंतर्फ ९९८.८० मिटर र धादिङतर्फ १२२९ मिटर मुख्य टनेल खनिएको उनले जानकारी दिए । २०७६ कात्तिक ४ गते शिलान्यास भएको नागढुंगा सुरुङमार्गको रेस्क्यू टनेल (उद्दार सुरुङ) २०८० साउन २२ गते ‘ब्रेक थ्रु’ भइसकेको छ । रेस्क्यू टनेलको कुल २५५७ मिटर लामो सुरुङमार्ग ‘ब्रेक थ्रु’ भइसकेको हो ।
४२ महिनामा निर्माण सक्नेगरी सन् २०१९ देखि सुरुङमार्ग निर्माण थालिएको थियो । कोरोनाका कारण थप १ वर्ष म्याद थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको छ ।
सुरुङ खन्ने काम लगभग अन्तिम चरणमा रहे पनि आयोजनाको समग्र काम भने हालसम्म ५९ प्रतिशत मात्र रहेको छ । कोइरालाले अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको बताए । मुख्य सुरुङमा फिनसिङको काम ४२.२० प्रतिशत सकिएको उनले जानकारी दिए । हालसम्म मुख्य सुरुङको ११२६.५५ मिटर सुरुङ फिनसिङ गरिसकिएको छ ।
नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।
सुरुङमार्ग निर्माणका लागि २२ अर्ब लागत अनुमान गरिएको थियो । उक्त लागत मध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदान रहेको छ ।
नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ । धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।