काठमाडौं । आर्थिक शिथिलताको असर बैंकिङ व्यवसायमा देखिएको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण व्यवसाय विस्तार गर्न नसक्दा र लगानी भएको ऋण असुली नहुँदा वाणिज्य बैंकहरूको नाफामा ठूलो धक्का लागेको हो ।
वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १८.६० प्रतिशतले घटेको छ ।
चालु वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १३ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ७ करोडले कम हो । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकले खुद नाफा १६ अर्ब ५५ करोड रुपैयाँ कमाएका थिए ।
असोज मसान्तसम्म अधिकांश बैंकको नाफा घटेको छ भने कृषि विकास बैंक घाटामा गएको छ । पहिलो तीन महिनामा सात बैंकले अर्ब बढी नाफा कमाएका छन् । सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नबिल बैंक १ अर्ब ४६ करोड, ग्लोबल आइएमई बैंक १ अर्ब २२ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाइका छन् ।
गत वर्षदेखि अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न सकेका थिएनन् । एकातिर ऋण लगानी प्रभावित भएको र अर्कोतिर लगानी गरेको ऋण समेत असुल नहुँदा बैंकहरू व्यवसायिक दबाबमा परेका हुन् ।
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकको निष्कृय कर्जा ह्वात्तै बढेको छ । जसको असर बैंकको खुद नाफामा देखिएको छ । उच्च ब्याजदर, मल्यवृद्धि लगायतका कारण उपभोक्ताको खरिद क्षमता कमजोर हुँदा बजारमा माग बढ्न सकेको छैन ।
ऋणीले समयमै ऋण तिर्न नसक्दा बैंकको लगानी उठ्न सकेको छैन । अर्कोतिर कालो सूचीमा पर्ने ऋणीहरूको संख्यामा व्यापक वृद्धि भएको छ । मागमा आएको संकुचनका कारण पछिल्लो समय पनि बैंकहरूले कर्जा लगानी बढाउन सकेका छैनन् । जसको असर बैंकको आगामी वित्तीय विवरणमा देखिने बैंकरहरू बताउँछन् ।
दर्जन बैंकको नाफा घट्यो, कृषि विकास घाटामा
चालु वर्षको पहिलो त्रैमासमा कृषि विकाससहित एक दर्जन बैंकको नाफामा गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नाफा कमाएको कृषि विकास बैंक यस वर्ष ८८ करोड ८० लाख रुपैयाँ घाटामा गएको छ ।
सिद्धार्थ बैंकको नाफा ४५ करोडले घटेको छ । गत वर्ष ४९ करोड ८२ लाख रुपैयाँ कमाएको यस बैंकको नाफा यस वर्ष ४२ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । लक्ष्मी सनराइज बैंकको नाफा ५० करोडबाट घटेर १० करोडमा सिमित भएको छ । सरकारी स्वामित्वको नेपाल बैंकको नाफा ६० अर्ब बाट घटेर १४ अर्ब रुपैयाँ रहेको छ ।
कुमारी बैंक १ अर्बबाट ७३ करोड रुपैयाँले गिरावट आएर २६ करोड, एनआइसी एसिया १ अर्ब १७ करोडबाट १ अर्ब १० करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब २४ करोडबाट घटेर ८५ करोड, नेपाल एसबीआई बैंकको नाफा ६२ करोडबाट घटेर ४७ करोडमा सिमित भएको छ ।
यसैगरी, सिटिजन बैंक ९ करोड, सानिमा ६ करोड, एभरेष्ट ८ करोड र नबिल बैंकको नाफा १० करोड रुपैयाँले घटेको प्रकाशित वित्तीय विवरणले देखाउँछ ।
८ बैंकको नाफा बढ्यो
दर्जन बैंकको नाफामा गिरावट आउँदा ८ बैंकले भने बढाएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकले ९८.३५ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस बैंकले १ अर्ब रुपैयाँ नाफा कमाएको छ । प्रभु बैंकले ४६.७ प्रतिशतले खुद नाफा वृद्धि गरेर १ अर्ब ३ करोड कमाएको छ ।
इन्भेष्टमेन्ट मेगाा बैंकले ३३.४७, प्राइमले ३१.७३, माछापुच्छ्रे २०.१८, एनएमबी ६.५३, ग्लोबल आइएमई ३.०४ र स्ट्यान्डार्ड चाटर्ड बैंकले २.०१ प्रतिशतले खुद नाफा बढाएका छन् ।