काठमाडौं । साना तथा मझौला उद्योगमा वाणिज्य बैंकहरूको कर्जा लगानी बढ्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा यस क्षेत्रमा बैंकहरूले कर्जा लगानी ९ प्रतिशतले बढाएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म बैंकहरूले साना तथा मझौला उद्योगमा कुल ४ खर्ब २६ अर्ब कर्जा लगानी गरेको छन् । यो अघिल्लो वर्ष २०७९ असार मसान्तको तुलनामा ३४ अर्ब ५६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्षसम्म बैंकहरूले यस क्षेत्रमा ३ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
सरकार र राष्ट्र बैंकले साना तथा मझौला उद्योगमा कर्जा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएसँगै बैैंकहरूले पनि लगानी बढाएका हुन् । असार मसान्तसम्म वाणिज्य बैंकले ४३ खर्ब १५ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए । त्यसको ९.८८ प्रतिशत हिस्सा साना तथा मझौला उद्योगमा लगानी गरेका हुन् ।
आर्थिक वृद्धि र रोजागारी सिर्जनामा महत्वपूर्ण हिस्सा रहेको साना तथा मझौला उद्योग बैंक तथा वित्तीय संस्थाको लागि लगानीको प्राथमिकतामा पर्न थालेको हो । उत्पादनमूलक व्यवसाय भएकाले सरकारले बैंक तथा वित्तीय संस्थालाई लगानीको लागि प्रोत्साहन गर्दै आएको छ ।
बैंकहरूले पनि साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विदेशबाट समेत ऋण भित्र्याउने गरेका छन् । बैंक तथा वित्तीय संस्थाको लगानी विविधीकरणका गर्न राष्ट्र बैंकले कर्जा लगानीका क्षेत्र तोकेका छ ।
जलविद्युत, कृषि, पर्यटन र साना तथा मझौला उद्योगमा ऋण लगानी बढाउन न्यूनतम सीमा तोकेको छ । राष्ट्र बैंकको नीति अनुसार बैंकहरूले २०८४ सम्म कृषि क्षेत्रमा १५ प्रतिशत, उर्जामा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।
लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत गरेर वाणिज्य बैंकले २०८४सम्म १५ प्रतिशत प्रवाह गर्नु पर्ने व्यवस्था छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई २०८१ असारसम्म ११ प्रतिशत ऋण यस क्षेत्रमा प्रवाह गर्नुपर्ने सीमा तोकेको छ । यसैगरी, चालु वर्षको अन्त्यसम्म विकास बैंकले १६ प्रतिशत, फाइनान्स कम्पनीले ११ प्रतिशत यस क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सीमा तोकेको छ । सोही कारण पनि बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउँदै गएका छन् ।
नियामक निकायले नै बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने बताएको छ ।
कुनको कति छ ऋण लगानी ?
साना तथा मझौला उद्योगको क्षेत्रमा बैंकहरूलाई कर्जा लगानीको लागि तोकेको न्यूनतम सीमा दर्जन बढी बैंकले पूरा गर्न सकेका छैनन् । राष्ट्र बैंकका अनुसार आधा दर्जन बैंकले मात्रै १० प्रतिशत बढी यस क्षेत्रमा कर्जा लगानी गरेका छन् ।
साना तथा मझौला उद्योगमा साबैभन्दा धेरै कृषि विकास बैंकले ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । यस प्रकारका उद्योगहरू धेरैजसो कृषिमा आधारित हुने भएकोले कृषि विकास बैंकको लगानी धेरै रहेको देखिन्छ ।
दोस्रोमा सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकले ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस क्षेत्रमा नेपाल बैंकले ४१ अर्ब रुपैयाँ ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा न्यून स्ट्यान्डार्ड चाटर्ड बैंकले १ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।
यसैगरी, एनआइसी एसिया बैंकले ३७ अर्ब, कुमारी ३२ अर्ब, ग्लोबल आइएमई ३० अर्ब, लक्ष्मी सनराइज २२ अर्ब, एनएमबी २१ अर्ब, नबिल बैंकले २० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार इन्भेष्टमेन्ट मेगा १८ अर्ब, सिटिजन, प्रभु र सिद्धार्थ बैंकले १५/१५ अर्ब रुपैयाँ बढी साना तथा मझौला उद्योगमा ऋण लगानी पुर्याएका छन् । प्राइम कमर्सियल १४ अर्ब, माछापुच्छ्रे र हिमालयन १०/१० अर्ब, सानिमा ९, एसबीआई ७ र एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ बढी ऋण लगानी गरेका छन् ।