उपत्यकामा ट्राफिक चेकिङमा कडाइ, एक सातामै साढे १२ हजार कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दशैंलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए। चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा)मै २ हजार २१८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै ३०० रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने १५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए ।

यसअघि यही कात्तिक १५ गते २ हजार ४, कात्तिक १४ गते १ हजार ५२७ र १३ गते १ हजार ५८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते १ हजार १५५, कात्तिक ११ गते १ हजार ७६८, १० गते १ हजार ३५५ र कात्तिक ९ गते १ हजार ९७ चालक कारबाहीमा परेका थिए ।

प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ ।

यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई परराष्ट्रमन्त्रीको आग्रह Read Next

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई परराष्ट्रमन्त्रीको आग्रह