काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’मा नेपाली खेलाडीलाई प्रोत्साहन गर्न डिशहोसले आकर्षक पुरस्कार घोषणा गरेको छ ।
जारी प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपाली टोलीलाई हौस्याउन डिशहोमले विभिन्न सात विधामा पुरस्कार घोषणा गरेको हो।
डिशहोमका अनुसार प्रतियोगिता अन्तर्गत एकै इनिङ्समा शतक हान्ने र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ पाउने छन् ।
त्यसैगरी, शतक प्रहार गर्ने खेलाडीले १० लाख, ५ विकेट लिनेले ५ लाख, अर्धशतक प्रहार गर्ने र ३ विकेट लिने खेलाडीले समान १/१ लाख पाउने भएका छन् ।
त्यस्तै, ३५ रन बनाउनेले ५० हजार र ३ क्याच वा स्टम्पिङ गर्नेले ५० हजार रुपैयाँ पाउनेछन् । यसअघि अर्ना बियरले पुरस्कार प्रतियोगिता अन्तर्गतका खेलमा हरेक रनमा १ हजार, चौकाको १० हजार, छक्काको २० हजार, डट बलको १ हजार, मेडन ओभरको १० हजार, हरेक विकेटको २५ हजार पुरस्कार घोषण गरेको थियो ।
प्रतियोगिता अन्तर्गत नेपालले भोलि समूहचरणको अन्तिम खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि नै सेमिफाइनलमा पुगेको नेपाल फाइनलमा पुगे आगामी वर्ष हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।