काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा लगातार तेस्रो दिन नेगेटिभ सर्किट लागेको छ । प्रिमियम मूल्यमा सेयर जारी गरी आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य लगातार तेस्रो दिन १० प्रतिशतले घटेको हो ।
प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य तीन दिनमै ९८.८० रुपैयाँले घटेर प्रतिकित्ता २५५.२० रुपैयाँमा आइपुगेको छ ।
खरिदकर्ता अत्यन्तै न्यून भए पनि अधिक सप्लाई आएपछि कम्पनीको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको हो ।प्रिमियम मूल्यमा आइपीओ किनेका लगानीकर्ता कम्पनीको सेयर होल्ड गर्नभन्दा बेच्न हतारिँदा मूल्यमा लगातार गिरावट आएको हो ।
आजसम्म घट्दो मूल्यमा सेयर बेच्दा पनि किनेको मूल्यभन्दा प्रतिकित्ता १८ रूपैयाँ फाइदा हुने भएपछि लगानीकर्ता अझै सेयर बेच्न हतारिएका हुन् । यद्यपि, खरिदकर्ता नदेखिएकाले बिक्रीमा राखिएको सेयर बिक्री हुने संकेत भने देखिँदैन ।
हरेक दिन कम्पनीको लाखौं कित्ता सेयर बिक्रीमा राखिए पनि तीन दिन (आज ११ः४० बजेसम्म) ३१ हजार कित्ता सेयर मात्रै बिक्री भएको छ । आइतबार दिन ६ हजार ४५९ कित्ता, सोमबार ११ हजार ५५७ कित्ता र मंगलबार (११ः४० बजेसम्म) १३ हजार ७८७ कित्ता सेयर खरिद बिक्री भएको छ ।
कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० मा १३७.५८ रुपैयाँ प्रिमियम थपेर)दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
नेप्सेमा कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ दरको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ४० प्रतिशत अर्थात् १ करोड २३ लाख २०० कित्ता छ ।