तामझामका साथ चलाइएको द्रुत बस सेवा बन्द, तिहारपछि पुनः सञ्चालनमा ल्याइने

काठमाडौं । ठूलो तामझामका साथ संचालनमा ल्याइएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा एक महिनामै बन्द भएको छ । संविधान दिवस (असोज ३ गते)देखि सञ्चालनमा ल्याइएको उक्त द्रुत बससेवा प्रभावकारी रुपमा संचालन हुन नसकेपछि बन्द भएको हो ।

द्रुत बसका लागि नयाँ सडक निर्माण नगरी भइरहेकै सडकको एक लेन छुट्याइ संचालनमा ल्याइएको थियो । तर, अफिस आवरमा एक लेन सडक द्रुत बसका लागि खाली गराउँदा झनै ट्राफिक जाम बढेको भन्दै विरोध भएको थियो भने द्रुत बस सेवा प्रभावकारी हुन सकेको थिएन । ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्क आइपुग्ने भनिए पनि सडक व्यवस्थापनमा भएको कमजोरीका कारण त्यो सम्भव हुन सकेको थिएन ।

सरकारले भने द्रुत बस सेवा बन्द नभई चाडवाडको बेला स्थगन गरिएको र अब फेरि संचालनमा ल्याइने बताएको छ । उक्त बस सेवा तिहारपछि पुनः सञ्चालनमा ल्याउने सरकारले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनः द्रुत बस सेवा सञ्चालनमा ल्याउने छ ।

दशैंदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए। उनले भने, ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।’

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात व्यवसायीले त्यसको अनुभव लिएका छन् । सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन् ।

द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए। रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताए ।

सङ्घीय राजधानी काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।

जनकपुरधाम उपमहानगरले पायो ई-रिक्सा नियमनको क्षेत्रधिकार, मंसिरभित्र दर्ता गरिसक्नुपर्ने Read Previous

जनकपुरधाम उपमहानगरले पायो ई-रिक्सा नियमनको क्षेत्रधिकार, मंसिरभित्र दर्ता गरिसक्नुपर्ने

सरकारले समयमै धान नकिनेपछि व्यापारीलाई सस्तोमा बेच्न किसान बाध्य Read Next

सरकारले समयमै धान नकिनेपछि व्यापारीलाई सस्तोमा बेच्न किसान बाध्य