काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आइतबार एकैदिन २८ अंकले घटेको नेप्से आज ३ अंकले फर्केको हो ।
सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको छ । यसदिन २७३ कम्पनीको ६९ करोड रूपैयाँ बढीको २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ०.८६ प्रतिशतले बढेको छ ।
आज साधना लघुवित्तको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
झिनो अंकले बढेको बजारमा आज पञ्चकन्या माइ हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.८२ प्रतिशत कमाएका छन् । त्यस्तै, मन्दकिनी हाइड्रोपावर र सुपर मोदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता सोनापुर मिनरल्सको सेयर मूल्यमा भने लगातार दोस्रो दिन नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले आज पनि ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।