नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको पौने ७ लाख खर्च !

काठमाडौं । ‘आइसीसी मेन्स टी-२० वल्र्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दा पौने ७ लाख रुपैयाँ बढी खर्च हुने भएको छ ।

विश्वकप छनोट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्न अर्ना बियरले हरेक रन, चौका, छक्का, विकेट र डट बलमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । सो अनुसार आजको म्याचमा नेपाली खेलाडीले हानेको रन र लिएको विकेटका आधारमा अर्नाले कुल ६ लाख ७६ हजार रुपैयाँ दिनुपर्ने भएको हो ।

अर्नाले विश्वकप छनोटमा ब्याटिङतर्फ हरेक रनमा १ हजार, हरेक चौकामा १० हजार र हरेक छक्कामा २० हजार दिने घोषणा गरेको थियो । त्यस्तै, बलिङतर्फ हरेक डट बलमा १ हजार, मेडन ओभरमा १० हजार र विकेटमा २५ हजार दिने घोषणा गरेको थियो ।

आजको खेलमा नेपालले सिंगापुर विरुद्ध १४७ रन हान्दै ८ विकेटले जित हात पारेको छ । पहिला ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जबाफी ब्याटिङमा आएको नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

कम्पनीको घोषणा अनुसार आजको खेलको स्कोरमा ब्याट्सम्यानले कुल ३ लाख ९२ हजार रुपैयाँ र बलरले २ लाख ८४ हजार रुपैयाँ पाउने भएका छन् । ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल एक्लैले मात्र १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार प्रतिरन १ हजारका दरले ७४ हजार, ८ चौकाको १० हजारका दरले ८० हजार र २ छक्काको २० हजारका दरले ४० हजार गरी कुल १ लाख ९४ हजार पाउने भएका हुन् ।

त्यस्तै, कप्तान रोहित पौडेलले ९५ हजार रुपैयाँ पाउने भएका छन् । २४ बलमा ३५ रन बनाएका रोहितले समान २र२ चौका र छक्का हिकाएका थिए । त्यसैगरी, २६ बल खेल्दै २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् ।

त्यस्तै, बलरतर्फ अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । उनले ४ ओभरमा ९ डटबल फाल्दै ३ विकेट लिएका थिए । यस अनुसार ३ विकेटको प्रतिविकेट २५ हजार दरले ७५ हजार र ९ डट बलको ९ हजार गरी कुल ८४ हजार पाउने भएका हुन् ।

त्यस्तै, सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । उनीहरुले १३/१३ डटबल फाल्दै दुई/दुई विकेट लिएका थिए । त्यसैगरी, २ विकेट लिँदै ११ डट बल फालेका करण केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।

सरकारलाई ऋणको भारले थिच्दै, पूँजीगतभन्दा साँवाब्याज तिर्न तेब्बर धेरै खर्च Read Previous

सरकारलाई ऋणको भारले थिच्दै, पूँजीगतभन्दा साँवाब्याज तिर्न तेब्बर धेरै खर्च

भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने Read Next

भारतले तोक्यो प्याजको निर्यात मूल्य प्रतिटन ८०० डलर, नेपालमा भाउ बढ्ने