काठमाडौं । सिमेन्ट निर्यातमा नयाँ रेकर्ड बनेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन-असोज)मै ८५ करोड रुपैयाँ बढीको सिमेन्ट तथा क्लिंकर निर्यात हुँदै हालसम्मकै धेरै निर्यातको रेकर्ड बनेको हो ।
यस वर्ष अफ सिजनमा पनि सिमेन्ट निर्यातले छलाङ मारेको हो । आन्तरिक बजारमा सिमेन्टको माग बढ्न नसके पनि भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । बर्खायाममा पूर्वाधार निर्माण कम हुने भएकाले सिमेन्ट खपतका लागि अफ सिजन मानिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको असोजसम्म कुल ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको सिमेन्ट विदेशिएको छ । तीन महिनामा नेपालबाट ४६ करोड ८९ लाख रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर भारत निर्यात भएको छ । त्यस्तै, ३८ करोड ४० लाख रुपैयाँ बराबरको ६ लाख ९ हजार ४४८ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।
चालु वर्षमा निर्यात भएको सिमेन्ट गत आर्थिक वर्ष (२०७९/८० )भरीमा निर्यात भएकोभन्दा पनि ७ करोड रुपैयाँ धेरैको हो । गत आवमा नेपालबाट कुल ७७ करोड ९३ लाख ६ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । जसमा ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजार रुपैयाँ बराबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको थियो ।
गत वर्षको तीन महिनाको तुलनामा चालु आवमा सिमेन्ट तथा क्लिंकर निर्यात ४० गुणाले बढेको हो । गत वर्षको पहिलो तीन महिनामा २ करोड १५ लाख रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।
सरकारले गत आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुडलगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरू गरेका थिए ।
हाल नेपालबाट चार उद्योगले भारत सिमेन्ट निर्यात गर्दै आएका छन् । पाल्पा, अर्घाखाँची, बालाजी र सीजी सिमेन्ट भारत निर्यात हुँदै आएको छ । २०७८ असार २४ गते पहिलोपटक पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू भएको थियो । त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात सुरू गरेका थिए ।
नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्नेछ । अहिले थप उद्योग सिमेन्ट निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणपत्रको पर्खाइमा रहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावना प्रचुर देखिएको छ । नेपाली सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गर्ने र सो उत्पादन अन्तर्राष्ट्रिय बजार पुर्याउने हो भने खर्ब बढीको निर्यात गर्न सक्ने सम्भावना रहको व्यवसायीहरू बताउँछन् ।
नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।