नबिलसहित ६ बैंकलाई राष्ट्र बैंकको कारबाही, करिब साढे २ करोड जरिवाना

काठमाडौं । । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धान/अनुगमनको क्रममा नियम उल्लंघन गरेको पाइएपछि बैंक राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले दुई बैंकलाई २ करोड ३७ लाख रुपैयाँ नगद जरिवाना तिराएको छ भने अरु बैंकका संचालक र प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआइसी एशिया, नबिल र सिटिजन्स बैंक कारबाहीमा परेका छन् ।

लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै ७० लाख रुपैयाँ जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, हिमालयन बैंकलाई वैशाख महिनामा कर्जा(निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना तिराएको छ ।

त्यसैगरी, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेश्रो संशोधन सहित) को दफा १० को उप–दफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएकोले उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको । साथै, सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको ।

त्यस्तै, एनआइसी एशिया बैंकले ग्राहकहरुसँग बढी लिएको ब्याज (रिक्स प्रिमियम) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएको भएपनि फिर्ता नगरेपछि पुनः निर्देशन विपरीत ब्याज बढाएको छ । बैंकले क्यापिटल एडुकेसी फ्रेम वर्क विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको उल्लङ्घन गरेको पाएपछि सीईओ र बैंक सञ्चालक समितिलाई समेत सचेत गराइएको छ ।

त्यस्तै, नबिल बैंकले एकीकृत निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको भन्दै नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको भन्दै प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा लोन एडमिस्टेशन फि लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले सिटिजन्स बैंकलाई कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

 

सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली प्रयोगमा ल्याइँदै Read Previous

सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली प्रयोगमा ल्याइँदै

७३ वर्षमा त्रिभुवन विमानस्थल पहिलो पटक पूर्ण क्षमतामा सञ्चालन, दैनिक ५०० उडान-अवतरण Read Next

७३ वर्षमा त्रिभुवन विमानस्थल पहिलो पटक पूर्ण क्षमतामा सञ्चालन, दैनिक ५०० उडान-अवतरण