२ महिनामा वाणिज्य बैंकले कमाए साढे १६ अर्ब नाफा, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ)मा वाणिज्य बैंकहरुले साढे १६ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौसम्म २० वटा वाणिज्य बैंकहरुले १६ खर्ब ६४ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

निक्षेप संकलनको तुलनामा कर्जा लगानी गर्न नसक्दा साउनको तुलनामा भदौमा बैंकहरुको नाफा घटेको छ । साथै, महंगो ब्याजदरमा निक्षेप उठाएर बैंकमै थुपारेर राख्दा बैंकहरुको लागत बढ्न गई नाफा प्रभावित हुन पुगेको हो ।

चालु वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए भने भदौमा ४० करोड घटेर ८ अर्ब १२ करोडमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको दुई महिनामा धेरै ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा नेपाल एसबीआई बैंकले सबैभन्दा कम २७ करोड नाफा आर्जन गरेको छ ।

अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजका कारण कर्जा विस्तार गर्न नसक्दा नाफामा गिरावट आएको तथ्यांकले देखाउँछ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि कर्जाको माग नहुँदा बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

साथै, निक्षेपको ब्याज महँगो हुँदा लागत बढेकाले बैंकहरूको नाफा प्रभावित बनेको हो । बैंकहरूले महँगो ब्याजमा निक्षेप थुपारे पनि ऋण लगानी गर्न नसक्दा पैसा बैंकमै थुप्रिएर बसेको छ ।

महँगीका कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा कर्जाको माग पनि बढेको छैन । त्यस्तै, प्रणालीमा अधिक तरलता थुप्रिँदा पनि ब्याज नघटेकाले ऋणको माग बढ्न सकेको छैन । अहिले पनि कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीसम्म रहेकाले ऋण लिएर व्यवसाय गर्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँदै आएका छन् ।

यद्यपि, पछिल्लो समय अन्य क्षेत्रमा कर्जाको माग नभए पनि अटो कर्जाको भने माग बढ्न थालेको छ । त्यसैलाई मध्येनजर गर्दै बैंकहरु सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेका छन् ।

कुन बैंकले कति कमाए ?

भदौसम्म ५ वटा बैंकले १ अर्ब बढी नाफा कमाएका छन् । जसमा ग्लोबल आइएमईले सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नबिल बैंक १ अर्ब ५६ करोड, इन्भेष्टमेन्ट मेगा १ अर्ब ४८ करोड, हिमालयन बैंक १ अर्ब २३ करोड र कुमारी बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य ८७ कराेड,  प्राइम कमर्सियल ८३ कराेड, लक्ष्मी सनराइज ८१ कराेड, एनआइसी एसियाले ८० अर्ब बढी नाफा आर्जन गरेका छन् । त्यसैगरी, एनएमबी ७८ कराेड, एभरेष्ट ७१ कराेड, नेपाल बैंक ७० कराेड,  प्रभु ६६ कराेड र कृषि विकास बैंकले ६१ करोड  बढी नाफा कामाएका छन् ।

त्यस्तै,  सिद्धार्थ ५८ कराेड, सानिमा ५१ कराेड, स्ट्यान्डार्ड चाटर्ड ४८ कराेड, सिटिजन ४४ कराेड,  माछापुच्छ्रे बैंकले ४७ करोड र नेपाल एसबीअाइले २७ कराेड रुपैयाँ खुद नाफा कमाएका छन् ।

अब कुराभन्दा काम थालौं : अध्यक्ष ढकाल Read Previous

अब कुराभन्दा काम थालौं : अध्यक्ष ढकाल

अरुण तेस्रोको मुआब्जा विवाद समाधानका निम्ति मन्त्रिपरिषद्मा पठाइने Read Next

अरुण तेस्रोको मुआब्जा विवाद समाधानका निम्ति मन्त्रिपरिषद्मा पठाइने