काठमाडौं । पछिल्लो समय लगातार सुधार आउँदा अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंक र सरकारले गत वर्ष आयातमा कडाइ गर्दा यस वर्ष अर्थतन्त्रको बाह्य सूचकहरुमा उल्लेख्य सुधार आएको हो ।
गत आर्थिक वर्षदेखि अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर बन्दै गएको छ । तर, बाह्य सूचकहरुमा लगातार सुधार आउँदा कोभिड अघिकै अवस्थामा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)को तथ्यांकले विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा सुधार आउँदा बाह्य क्षेत्र निकै मजबुत अवस्थामा पुगेको छ ।
बाह्य सूचक बलियो बन्दा आन्तरिक सूचकमा भने सुधार आउन नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अहिले पनि मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर छ भने कर्जा लगानी अति न्यून छ । भदौमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले घटेको छ ।
त्यस्तै, अर्थतन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ । त्यस्तै, सरकारको आम्दानीमा गिरावट आएको छ । भदौसम्म कुल १४१ अर्ब ८ करोड राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा १४३.८१ अर्ब राजस्व संकलन भएको थियो ।
यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू
१. विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै : विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । भदौ मसान्तसम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ९८ अर्ब पुगेको छ ।
विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा संचिति ३.९ प्रतिशतले बढेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १४ खर्ब ६ अर्ब र बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२. रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले बढ्यो
चालु आवको दुई महिनामा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २२८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।
३. चालु खाता र शोधनान्तर स्थिति बचतमा
यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । भदौ मसान्तसम्म चालु खाता रु.२३ अर्ब ५० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो ।
४. व्यापार घाटामा सुधार
चालु आर्थिक वर्ष २०८०/८१ को दुइर्म हिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई रु.२३३ अर्ब ३० करोड कायम भएको छ । समीक्षा अवधिमा वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई रु २६ अर्ब ४५ करोड कायम भएको छ भने वस्तु आयातमा ५.१ प्रतिशतले कमी आई रु.२५९ अर्ब ७५ करोड
५. १४१ अर्ब आम्दनी, १३१ अर्ब खर्च
भदौसम्म सरकारले कुल १३१ अर्ब १४ करोड खर्च गरेको छ । समीक्षा अवधिमा चालु खर्च ८६.६६ अर्ब, पूँजीगत खर्च ८.१७ अर्ब र वित्तीय व्यवस्था खर्च ३५.३१ अर्ब रहेको छ ।
ससमीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.१४१ अर्ब ८ करोड भएको छ । यस अन्तर्गत कर राजस्व रु.१२७ अर्ब ९६ करोड र गैर कर राजस्व रु.१३ अर्ब १२ करोड परिचालन भएको छ
६. घट्यो निक्षेप संकलन र कर्जा लगानी
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.४३ अर्ब ६६ करोड (०.९ प्रतिशत) ले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२४ अर्ब १३ करोड (०.५ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ ।
७. मूल्यवृद्धि अझै उच्च
गत वर्षदेखि उच्च रहँदै आएको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको१२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०।९७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको छ । चालु वर्षमा ६.५ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने राष्ट्र बैंकले लक्ष्य लिएको छ । तर, आवको सुरुदेखि नै महंगि भने नियन्त्रण बाहिर छ ।