म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ।
याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो। घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए।
‘पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो’, उनले भने, ‘यस याममा प्रतिकिलो ९० देखि १०० रुपैयाँ पर्ने स्याउ चिस्यान गृहमा राख्दा बेमौसममा दोब्बर बढी मूल्य पार्न सकिन्छ।’
चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष १०(१० मेट्रिकटन क्षमताको चिस्यानगृह बनाएका थिए ।
१४ लाख रुपैयाँ लगानी भएको चिस्यानगृह बनाउन स्याउ जोनले ११ लाख रुपैयाँ अनुदान दिएको थियो। ‘असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ’, विश्व लालचनले भने, ‘चारदेखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ।’
चिस्यानगृह नहुँदा मुस्ताङका कृषकले घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे। यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो। बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरिन्थ्यो।
स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन मुस्ताङमा पाँच चिस्यानगृह निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताए।
‘वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्’, उनले भने, ‘मुस्ताङमा प्रभावकारी भएकाले चिस्यानगृहको माग बढी छ।’
गत आर्थिक वर्ष २०७९/८० मा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०र१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो।
मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ।
गत वर्ष मुस्ताङमा ६ हजार ६०० मेट्रिकटन स्याउ उत्पादन भएको थियो। ५० करोड रुपैयाँ मूल्य बराबरको चार हजार ६२० मेट्रिकटन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको थियो।
बगैंचामा प्रतिकिलो १०० देखि १२० का दरले स्याउ बिक्री भएको छ। रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउखेती भएको छ। मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ।
स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो। यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुन्थ्यो। अहिले असोजमै सबैजसो बगैंचा रित्तिन थालेका छन्। नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैंचा नै व्यापारीलाई ठेक्का दिएका थिए।
यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्नसक्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए।
‘फूल खेलेर परागसेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ’, उनले भने, ‘यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख, जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन्।’ रासस