काठमाडौं । एक-अर्को बैंकमा रहेको निक्षेप तान्ने होडबाजीमा ब्याजदर बढाएका बैंकहरू अहिले घटाउनुपर्ने दबाबमा पुगेका छन् । प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै महंगो ब्याजमा उठाएको निक्षेपले बैंकको लागत बढाएको छ । महँगोमा निक्षेप उठाए पनि कर्जा लगानी हुन नसक्दा पैसा बैंकमै थुप्रिएपछि बैंकहरूमाथि निक्षेपको ब्याजदर घटाउनु पर्ने दबाब परेको हो ।
अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजका कारण अहिले पनि कर्जाको माग बढ्न सकेको छैन । कात्तिक महिनामा दसैं र तिहार जस्ता चाडपर्व परेकाले ऋणको माग बढ्ने देखिँदैन । यस्तोमा महँगोको निक्षेप उठाएर बैंकमै थुपारेर राख्दा लागत बढ्न गई नाफा समेत प्रभावित हुन्छ । कर्जाको माग नआउने र निक्षेपको ब्याज धेरै तिर्नुपर्ने हुँदा आर्थिक भार पर्ने भएकाले बैंकहरूलाई कात्तिकमा ब्याजदर घटाउनुपर्ने दबाब परेको छ।
ब्याजदर घटाउन साउनमा भद्र सहमती तोडेका बैंकहरूले त्यसयता निक्षेप तान्ने होडमा लगातार बढाउँदै आएका छन् । त्यसअघि बैंकहरूले भद्र सहमतीका नाममा एउटै ब्याजदर तय गर्दै आएका थिए ।
साउनमा मुद्दती निक्षेपको ब्याजदर ९.७७ प्रतिशत रहेकोमा असोजसम्म आइपुग्दा बढेर ११.०५४ प्रतिशत पुगेको छ । अब कात्तिकमा पनि बढाए १२ प्रतिशत नाघ्ने छ । यद्यपि, कात्तिकमा निक्षेपको ब्याजदर घटाउने-बढाउने बारे निर्णय नेपाल बैंकर्स संघको यसै साता बस्ने बैठकले गर्नेछ ।
बजारमा माग र आपूर्तिले ब्याजदर निर्धारण गर्ने अपेक्षा विपरीत महंगो ब्याजमा निक्षेप उठाउँदा बैंकको लागत वृद्धि भएर प्रत्यक्ष असर कर्जाको ब्याजदरमा देखिएको छ । माग नहुँदा पनि लगातार निक्षेपको ब्याजदर बढाएका बैंकहरूलाई अहिले आफ्नै खुट्टामा बन्चरो सरह भएको छ ।
अहिले बैंकिङ प्रणालीमा झन्डै ५ खर्ब निक्षेप छ । अधिक तरलता हुँदा पनि ब्याजदर नघटेकाले तत्काल ऋणको माग बढ्ने देखिँदैन । यस्तोमा कात्तिकमा पनि ब्याजदर बढाए बैंकहरूलाई त्यो निकै महँगो पर्नेछ ।
कर्जाको माग नहुँदा उच्च ब्याज दिएर बैंक तथा वित्तीय संस्थाहरूले उठाएको रकम संस्थाहरूमै थुप्रिएको छ । सोही कारण ऋणको माग र लगानी बढाउन बैंकहरू ब्याजदर घटाउनपर्ने अवस्थामा आएका हुन् ।
आर्थिक वर्षको सुरुदेखिनै ऋण लगानी नभएकाले बैंकहरूमाथि ब्याजदर घटाउनै पर्ने दबाब थपिएको बैंकरहरू बताउँछन् । पूर्व बैंकर परशुराम कुँवर क्षेत्री बजारमा तरलता र कर्जा लगानी हेर्दा ब्याजदर घट्नै पर्ने अवस्था रहेको बताउँछन् ।
‘कर्जाको माग र तरलताको स्थिति हेर्दा घट्नै पर्ने हो । साउन-भदौमा पनि बढ्नुपर्ने कारण थिएन्,’ उनले भने, ‘विभिन्न नीतिगत कारणले धेरै तल आउने ठाउँ नरहे पनि ब्याजर घट्नुपर्ने हो ।’
यो अवधिमा ऋणको माग नहुने, बैंकले उच्च ब्याजमा उठाएको निक्षेपको दायित्व झनै बढ्ने भएकाले बैंकहरू घटाउने अवस्थामा देखिएका छन् । बैंकको लागत बढ्दा कर्जा लगानी समेत प्रभावित भएकाले कात्तिकमा अधिकांश बैंकले ब्याजदर घटाउने देखिएको वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘सिष्टममा वर्षभरी लगानी गर्न पुग्ने स्रोत छ, तर ऋणको माग अहिलेसम्म बढेको छैन,’ उनले भने, ‘महंगो ब्याजतिरेर संस्थाले निक्षेप राखेका छन् । त्यसले लागत बढाएको छ । योभन्दा ब्याज बढ्ने ठाउँ छैन त्यसैले कात्तिकमा घटाउलान ।’
व्यवसायिक हिसाबले पनि बैंकहरू गत वर्षदेखि दबाबमा रहेकाले अब बाहिर निष्कनुपर्ने उनको भनाइ छ । व्यक्तिगत र संस्थागत निक्षेप बीचको ब्याजदर अन्तर २ प्रतिशत हुनुपर्ने, एकैपटक १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन वा घटाउन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अधिकांश बैंकले कात्तिकमा ब्याजदर घटाए पनि औसतमा १० प्रतिशतभन्दा तल आउने देखिँदैन ।
बैंकहरूले गत वर्ष तरलता अभावका कारण ब्याजदर बढाउँदै लगेका थिए । जसको असर यो वर्षसम्म कर्जाको ब्याजदरमा देखिएको छ । १२ प्रतिशत (रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म) ब्याज निक्षेपमै दिएपछि त्यो बेला कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । निक्षेपको ब्याज बढाउदा लागत वृद्धिले लगानीमा समेत असर पर्ने गरेको छ । फागुनयता ब्याजदर घटाउन खोजे पनि अपेक्षित रुपमा तल आउन सकेको छैन । अहिले पनि महंगोमा निक्षेपका कारण धेरै घटाउन सक्ने अवस्था नरहेको बैंकरहरूको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारसम्म औसतमा बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८१.८१ प्रतिशत रहेको छ । ९० प्रतिशतको यस्तो अनुपातसम्म बैंकहरूले ऋण लगानी पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अन्तर बैंक ब्याजदर १.९९ प्रतिशतमा आएको छ । जबकि तरलता अभाव हुँदा यस्तो ब्याजदर ८ प्रतिशतसम्म पुगेको थियो ।
यी सूचकले पनि प्रणालीमा पर्याप्त तरलता रहेको देखाउँछ । बैंकरहरूका अनुसार संस्थाहरूसँग ऋण दिनसक्ने स्रोत ५ खर्ब रुपैयाँ रहेको छ । माग नहुँदा यो रकम बैैंकमै थुप्रिएको छ । सरकारले पनि ब्याजदर घटाउने शर्तमै स्थानीय तहको ६० अर्ब रुपैयाँ बढी पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ ।
अहिले बैंकहरूसँग पर्याप्त लगानीयोग्य रकम हुँदा समेत महंगो ब्याजका कारण ऋणको माग नभएको उद्योगी व्यवसायीहरू बताउँछन् । कर्जाको माग नहुँदा बैंकहरूले यो वर्ष पनि लगानी गर्न सकेका छैनन् । पहिलो त्रैमाससम्म १ खर्ब पनि लगानी बढाउन नसकेको तथ्यांकले देखाउँछ । जबकि राष्ट्र बैंकले ६ खर्ब रुपैयाँले ऋण लगानी बढाउने लक्ष्य लिएको छ । ऋण लगानी नहुनुको कारण आर्थिक शिथिलता र उच्च ब्याजदर भएको जानकारहरूको भनाइ छ ।