काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गरी हस्तान्तरण गरेको ६ महिना बिते पनि काडमाडौं महानगरपालिकाको टेकुस्थित बायो ग्यास प्लान्ट संचालनमा आउन सकेको छैन ।
आविष्कार केन्द्रले गत चैतमा बायो ग्यसा प्लान्टका उपकरण मर्मत गरी महानगरलाई हस्तान्तरण गरे पनि महानगरले अझै संचालनमा ल्याउन नसकेको हो ।
फोहोरबाट ग्यास उत्पादन गर्ने उक्त प्लान्टमा ग्यास संकलन गर्ने बेलुन (उत्पादित ग्यास स्टोर गर्ने ट्यांकी जस्तै उपकरण) जडान हुन नसक्दा संचालनमा आउन नसकेको हो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भारतबाट बेलुन ल्याउन रिक्वेष्ट लेटर पठाइसकेको बताए । उनले उक्त बेलुन नल्याएसम्म ग्यास प्लान्ट सञ्चालनमा आउन नसक्ने बताए ।
‘प्लान्ट मर्मतको काम भइसकेको छ, त्यसबाट उत्पादन हुने ग्यास जम्मा गर्नको लागि बेलुन चाहिन्छ । अहिले भएको बेलुन प्रयोग गर्न नसकिने भएकाले भारतबाट मगाएका छौँ,’ मानन्धरले चाणक्य पोष्टसँग भने ।
ग्यास प्लान्ट मर्मतको काम राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिएको थियो । मर्मतको काम ६ महिना अघि नै सम्पन्न भइसकेको केन्द्रका सञ्चालन महावीर पुनले जानकारी दिए । उनका अनुसार केन्द्रबाट हुने मर्मतको काम सबै सकिसकेको छ । पूर्णरुपमा सञ्चालनका लागि बेलुन किन्न बाँकी रहेको छ । उक्त बेलुन काठमाडौं महानगरपालिकाले किनेर दिए उनले पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिने बताए ।
हाल बायो ग्यास प्लान्टमा फोहोर ल्याएर थुपार्ने काम मात्र भइरहेको छ । त्यसबाट ग्यास उत्पादन र बिजुली उत्पादनको कामले गति लिन सकेको छैन ।
उक्त प्लान्टमा जडान गर्ने बेलुन एक तले घर जत्रो हुने छ । उक्त बेलुनमा प्लान्टबाट उत्पादन हुने ग्यास संकलन गरिनेछ । बायो ग्यास प्लान्ट भित्र २ वटा कुहिने फोहोर राख्ने क्षमताको ट्यांकर रहेको छ । उक्त ट्यांकरमा ३ देखि ४ टन फोहोर अटाउने छ ।
बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि प्रत्येक दिन ९६ केजी बायो ग्यास उत्पादन गर्ने छ । प्लान्टले दैनिक १५ सय केजी मल उत्पादन गर्न सक्ने छ । टेकु प्लान्टमा ३०० टन फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य महानगरको रहेको छ ।
मेसिनले दैनिक प्रयोगमा ल्याउन सके काठमाडौंको ४०० मेट्रिकटन फोहोर सो मेसिनले नै खपत गर्न सक्ने छ । काठमाडौं महानगरपालिकाले फोहोरबाट मोहर उत्पादन गर्ने लक्ष्यसहित २०७१ सालमा बायो ग्यास प्लान्ट स्थपना गरेको थियो । १ करोड ८६ लाख रुपैयाँ खर्चेर ल्याएको उक्त प्लान्ट स्थपना गरिएको थियो ।
बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने यस प्लान्टको प्रयोगले सहरभित्रको अधिकांश फोहोरलाई मोहोरको रुपमा प्रयोग गर्न सक्ने विश्वास राखिएको थियो । २०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । त्यसपछि यो प्लान्ट बन्द अवस्थामा रहेको छ ।
फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर आसपासका सरकारी भवनमा वितरण गर्न सकिने लक्ष्य राखिए पनि योजना सफल हुन सकेन । महानगरपालिकाले सञ्चालनमा ल्याएको सो परियोजनाबाट करिब ६ महिनासम्मका लागि बिजुली उत्पादन भए पनि बायो ग्यास उत्पादन नहुँदै बन्द भएको थियो ।