एमसीसीको प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द

काठमाडौं । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान गरिएको बोलपत्र रद्द गरिएको छ ।

प्रसारण लाइन निर्माणका लागि आवेदक कम्पनीहरुले प्रस्ताव गरेभन्दा धेरै महँगो रेटमा आवेदन दिएपछि ठेक्का प्रक्रिया नै रद्द भएको हो । एमसीए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माणका लागि गत मंसिर १२ गते ३ वटा ठेक्का आह्वान गरेको थियो ।

प्रस्तावित लागतभन्दा ६० प्रतिशतसम्म बढी रकम कबोल गरी आवेदन हालेकाले ठेक्का प्रक्रिया रद्द गरिएको हो । प्रसारण लाइन निर्माणको लागि एमसीए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेकोमा न्यनतम ३६ करोड ५९ लाख डलरको बोलपत्र पेस भएको थियो ।

महँगो प्रस्ताव परेपछि एमसीए नेपालले एमसीसी हेडक्वार्टरसँग ठेक्का अघि बढाउने वा रोक्ने बारेमा सुझाव मागेको थियो । एमसीसीले पुनः बोलपत्र आह्‍वान गर्नुपर्ने बताएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो ।

ठेक्का प्रक्रिया रद्द भएसँगै अब फेरि टेन्डर आह्वान गरिने एमसीए नेपालले जनाएको छ । ५ वर्ष अवधिको एमसीसी परियोजना गत भदौ १३ गतेदेखि सुरु भएको थियो ।

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार Read Previous

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत