काठमाडौं । काठमाडौँ महानगरपालिका र होटल सङ्घ नेपाल (हान)ले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् ।
होटल सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो । छलफलमा सङ्घका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना प्रस्तुत गरेको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौँ महानगरपालिका र होटल सङ्घ नेपालको पर्यटन प्रवर्द्धनको संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले महानगरपालिका सकारात्मक रहेको बताए। उनले पर्यटन प्रवर्द्धनमा महानगरले तयार पारेका विभिन्न कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरे ।
छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको अध्यक्ष शाहले बताए । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
छलफलका क्रममा पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगत्मा पुर्याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भएको जारी विज्ञप्तिमा जनाइएको छ ।