सम्पत्ति शुद्धीकरण विधेयकको प्रतिवेदन संसद्मा पेस

काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

गत वैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावलीअनुरुप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो । उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गरेका थिए ।

गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमिति गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेस भएर छलफल भई असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो ।

सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ वटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रबद्र्धनमा कानुनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्नि नेपालको कानुन अन्तर्राष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् ।

 

घोराहीको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो Read Previous

घोराहीको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो

'मास प्रिन्टर' खरिदका लागि चाैथाे पटक बोलपत्र आह्वान Read Next

'मास प्रिन्टर' खरिदका लागि चाैथाे पटक बोलपत्र आह्वान