काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यससाता सुरुका तीन दिनमै ६७ अंकले घटेको नेप्से बुधबार ५ अंकले बढे पनि आज फेरि २० अंकले घटेको हो । समग्रमा यससाता नेप्से ८२ अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० विन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि करोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले बढेर १ अर्ब ७० करोमा पुगेको छ । आज २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।
आज लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भगवती हाइड्रोपावर र मिड सोलु खोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । ्
त्यस्तै, माण्डू हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, एनआइबीएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।