काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसाय पुरानै बीमालेख (पोलिसी)ले धानेको देखिएको छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण नयाँ पोलिसी बिक्री सुस्त हुँदा बीमा कम्पनीहरूको व्यवसाय पुरानै पोलिसीमा निर्भर रहेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कुल जीवन बीमा व्यवसायको ८५ प्रतिशत हिस्सा पुरानै व्यवसायको छ भने १५ प्रतिशत मात्रै नयाँ थपिएको छ । चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमा व्यवसायमा प्रथम बीमा शुल्कको योगदान १४.८८ प्रतिशत रहेको छ भने नवीकरणीय बीमा शुल्कको हिस्सा ८५.११ प्रतिशत रहेको छ ।
चालु वर्षको दुई महिना (साउन–भदौ)मा जीवन बीमा कम्पनीले कुल २९ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा २४ अर्ब ७९ करोड रुपैयाँ नविकरणीय बीमा शुल्क रहेको छ भने ४ अर्ब ३३ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क रहेको छ ।
प्रथम बीमा लेखकको संख्या पनि घटेको तथ्यांकले देखाएको छ । चालु वर्षमा कम्पनीहरूले ९ लाख ८० हजार प्रथम बीमा लेख जारी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २१ लाख ८६ हजार प्रथम बीमा लेख जारी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष ५५.१७ प्रतिशतले प्रथम बीमालेखको संख्या घटेको छ भने कुल बीमा लेखमा यसको हिस्सा ७.२८ प्रतिशत मात्रै हरेको छ ।
नयाँ बीमा लेखमा आधाभन्दा बढी गिरावट आएको छ । यस तथ्यले कम्पनीहरूले थप व्यवसाय विस्तार गर्न नसकेको देखाउँछ । अर्थतन्त्रमा आएको संकूचन, मानिसको रोजगारी र व्यापार व्यवासयमा त्यसको प्रत्यक्ष असर पर्दाको प्रभाव बीमा कम्पनीको व्यवसायमा देखिएको बीमकहरू बताउँछन् ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेल बीमा व्यवसायमा गिरावट आउनुको मुख्य तीन कारण देख्छन् । ‘पहिलो भनेको समग्र अर्थतन्त्रमा आएको शिथिलता हो । दोस्रो मर्जरको सिनर्जी कम्पनीहरूले प्राप्त गर्न नसक्नु र तेस्रो कम्पनीहरू सहर केन्द्रित हुँदा बीमा व्यवसाय राम्रोसँग बढ्न सकेको छैन,’ उनले भने ।
चालु वर्षका पहिला दुई महिनामा कसल बीमा व्यवसाय ११.८६ प्रतिशतले वृद्धि भएको छ । तर, कम्पनीहरूको बीमा लेख र प्रथम बीमा शुल्क भने घटेको छ । प्राधिकरणका अनुसार चालु वर्ष प्रथम बीमा शुल्क ९.९५ प्रतिशतले घटेको छ भने प्रथम बीमालेखको संख्या ५५.१७ र कुल बीमा लेखको संख्या ४.१८ प्रतिशतले घटेको छ ।
अर्थतन्त्रमै आएको समस्याका कारण मान्छेहरूको बचत घटेको र बीमाप्रति आकर्षित नदेखिएको पौडेलले बताए । ग्रामीण क्षेत्रमै पनि कम्पनीहरू जन नसकेको, त्यहाँका बीमा गर्ने मान्छेहरू विदेशमा जान थालेकाले कम्पनीले मान्छे नै नपाउने अवस्था आएको उनको भनाइ छ ।
कम्पनीको पूँजी बढ्दो, व्यवसाय घट्दो
कम्पनीको पूँजीको आकार बढे पनि व्यवसाय भने घटेको छ । २०७९ चैतमा कुल जीवन बीमा कम्पनीको संख्या १९ रहेकोमा अहिले मर्जर तथा प्राप्तिमा गएर १४ छ । यी कम्पनीको संख्या घटे पनि पूँजी भने साढे दुई गुणाले बढाइएको छ ।
त्यसमा तीनवटा लघु जीवन बीमा थपिएका छन् भने दुईले व्यवसाय नै सुरू गरिसकेका छन् । कम्पनीको संख्या घटाएर वित्तीय अवस्था बलियो बनाउने र पहुँच बढाउने आफ्नै नीति विपरीत प्राधिरणले लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको थियो ।
ग्रामीण क्षेत्रमा बीमाको पहुँच बढाउने दाबीसहित खोलिएका लघुबीमा कम्पनीको संख्या थपिँदा समेत नयाँ व्यवसाय भने खस्किएको तथ्यांकले देखाउँछ ।
बीमा प्राधिकरणले २०७८ चैतमा जीवन र निर्जीवन बीमा कम्पनीलाई एक वर्षभित्र पूँजी अढाई गुणाले बढाउन निर्देशन दिएको थियो । त्यसअनुसार कम्पनीहरूले गत वर्षको चैत मसान्तभित्र पूँजी पुर्याउनु पर्ने भए पनि अहिलेसम्म केही कम्पनीले पुर्याएका छैनन् ।
जीवन बीमाको २ अर्ब रुपैयाँबाट साढे ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पूँजी १ अर्बबाट वृद्धि गरेर अढाई अर्ब कायम गरिएको छ । केहीले कम्पनीहरूले तोकिएको पूँजी कायम गरिसकेका छन् भने अन्यले आइपीओ र हकप्रद जारी गरेर पुर्याउने प्रक्रियामै छन् ।
साढे दुई गुणाले बढाएको पूँजी र थप लघुबीमा कम्पनीको पूँजीगत र मर्जर नीति अघिको कम्पनीको संख्यालाई हिसाब गर्ने हो भने जीवन बीमा व्यवसायमा ठूलो गिरावट आएको र नयाँ विस्तार हुन नसकेको देखिन्छ ।