अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड, ४० हजारले काटे टिकट

agrim ticket-new buss park

काठमाडौं । सरकारले दसैंमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् ।

नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिए। उनका अनुसार असोज २२ गते २४ हजार ३४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।

असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार २३०, गण्डकी प्रदेशका लागि ९७५, लुम्बिनी प्रदेशका लागि १३ हजार ५३५, कर्णाली प्रदेशका लागि एक हजार ७०० र सुदूरपश्चिम प्रदेशका लागि ६ हजार ९०० टिकट बुकिङ भएको छ ।

यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार १७०, गण्डकी प्रदेश ५००, लुम्बिनी प्रदेश सात हजार ५३५, कर्णाली प्रदेशमा एक हजार ६२० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।

सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

लामो समयदेखि काठमाडौँदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आएका वर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउँछन् । ‘विभिन्न ठाउँमा बाटो विग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पुर्याउन सकिँदैन,’ उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन् । ‘राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ, तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन,’ उनले भने । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।

असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरु उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमी काठमाडौँतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसाबले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले बताए । यस सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

लक्ष्मी सनराइज बैंकको 'दसैं आयो' अफर, विभिन्न सेवामा १ हजारसम्म क्यासब्याक Read Previous

लक्ष्मी सनराइज बैंकको 'दसैं आयो' अफर, विभिन्न सेवामा १ हजारसम्म क्यासब्याक

युरोपको सबैभन्दा ठूलो जर्मनीको अर्थतन्त्र गहिरो मन्दीतर्फ Read Next

युरोपको सबैभन्दा ठूलो जर्मनीको अर्थतन्त्र गहिरो मन्दीतर्फ