धोवीखोला करिडोर अढाई दशकमा पनि अपूरै, ७९ मिटर सडकमा अड्कियो काम

काठमाडौं । धोवीखोला करिडोर निर्माणको थालिएको अढाई दशक बित्दा समेत सम्पन्न हुन सकेको छैन । साइट क्लियरेन्समा ढिलाइ, मुआब्जा विवाद, स्थानीयको अवरोध, सरकारको वेवास्ता, ठेकेदारको लापारबाही लगायत कारणले करिडोर निर्माणमा ढिलाइ भएको हो ।

वि.स. २०५६ देखि सुरू भएको यो करिडोर निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९६ प्रतिशत काम पूरा भएको छ भने ४ प्रतिशत काम बाँकी छ । तर, बाँकी ४ प्रतिशत काम कहिले सम्पन्न हुन्छ भन्ने अनिश्चित छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्त कार्यालयका इन्जिनीयर सजन कुँवरले आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको बताए । उनले दुई स्थानको ७९ मिटर सडकखण्डमा केही प्राविधिक र स्थानीय समस्याका कारण करिडोरको काम सम्पन्न नभएको बताए ।

उनका अनुसार बिजुली बजार र बुढानिलकण्ठ गरी २ स्थानमा करिडोर निर्माणले राम्रो प्रगति गर्न नसकेको हो । बिजुली बजारको पश्चिमतर्फ वडा नम्बर ११ मा स्थानीयले पोल हटाउन नदिएपछि वैकल्पिक बाटो खोज्ने काम भइरहेको उनले बताए । यहाँ झण्डै ७० मिटर खन्न बाँकी छ । यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग समेत कुरा भइरहेको उनले बताए ।

यस्तै, बुढानिलकण्ठमा ९ मिटर ट्रयाक खोल्न नसकिएको हो । उक्त स्थानमा माथि बस्ती र तल बाटो खोल्दा पहिरो जाने भएकोले बाटो खोल्न नसकेको उनले बताए ।

‘बिजुली बजारमा १० नम्बर वडामा काम भइसक्यो ११ नम्बरमा काम गर्न स्थानीयले मानेका छैनन्, हामीले भौतिक पूर्वाधार मन्त्रालयमा समेत भनेका छौँ, बजेट समेत नआएकोले त्यसमा केही हुन सकेको छैन,’ कुँवरले चाणक्य पोष्टसँग भने ‘ बुढानिलकण्ठमा माथि बस्ती तल पहाड भएकोले बाटो खन्दा पहिरो जाने समस्या छ त्यसैले त्यता पनि काम हुन सकेको छैन ।’

बुढानिलकण्ठको वडा २ मा प्राधिकरणले अझै ट्रयाक खुलाउन सकेको छैन । उक्त स्थानमा ९ मिटर ट्रयाक खोल्न नसकिने अवस्था सृजना भएको उनले बताए । उक्त स्थानमा ट्रयाक खोल्न कन्सलटेन्ट हायर गरे पनि बाढीको समस्या देखा परेको उनले बताए ।

धुल २४ किलोमिटर लामो धोवीखोला करिडोरमा हालसम्म २२ किलोमिटरमा कालोपत्र गर्ने काम सकिसकेको छ । यस आयोजनाका लागि सरकारले चालु आवमा ९ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

धोवीखोला करिडोर निर्माणका क्रममा हालसम्म ३ अर्ब रुपैयाँ बढि खर्च भइसकेको छ । ४ प्रतिशत मात्र काम बाँकी रहेको यस आयोजना सो आयोजना कुल लागत ४ अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

धोवीखोला कोरिडोर निर्माण गर्न थालेको साढे २ दशक बितिसक्दा हालसम्म सम्पन्न हुन सकेको छैन । लामो समयदेखि म्याद थप हुँदै आएको धोवीखोला करिडोर निर्माण २०८०/८१ सालको अन्तसम्ममा सम्पन्न गर्ने प्राधिकरणको दाबी छ ।

काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रूपमा धोवीखोला करिडोरलाई २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि सारेको थियो ।

महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्रोजेक्टबाट धोवीखोला कोरिडोर सुधार आयोजना सुरू भएको थियो । तर, त्यसमार्फत राम्रो काम नभएपछि २०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लिएको थियो । अहिले उपत्यका विकास प्राधिकरणले धोवीखोला करिडोर निर्माणको काम हेरिरहेको छ ।

 

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख दिने Read Previous

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख दिने

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा