मदन भण्डारी राजमार्ग : सडकभन्दा पुलको प्रगति धेरै, १०८ पुल निर्माण सम्पन्न

काठमाडौं । पूर्व–पश्चिम जोड्ने देशको चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत १०८ पुल निर्माण गरिएको छ ।
जम्मा १८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ ।

हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी (इञ्जिनीयर) शिव तिमल्सिनाले जानकारी दिए । डिजाइन भएर ठेक्कामा जान बाँकी छैन । उनले भने, ‘आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ । डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन् ।’ उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठूलो पुल कणार्लीमा रहेको छ । अधिकांश भने साना पुल रहेका थिए ।

आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढि छ । समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ ।वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए ।

हरेकवर्ष सुरुमा विनियोजनभन्दा दोब्बर–तेब्बर खर्च भइरहेको उनको भनाइ थियो । सूचना अधिकारी तिमल्सिनाले भने, ‘खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन ।’ टेण्डर आह्वान गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उनले बताए ।

त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ । बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ । बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन ।

गत आवमा १० पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो । दमकस्थित योजना कार्यालयले ६, हेटौँडास्थित कार्यालयले ५ र गाईघाटस्थित कार्यालयले ३ पुल निर्माण गरेका थिए ।

उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना Read Previous

उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना

एकपछि अर्को अन्तर्राष्ट्रिय युद्ध, नेपाली अर्थतन्त्रमा कस्तो पर्छ असर ? Read Next

एकपछि अर्को अन्तर्राष्ट्रिय युद्ध, नेपाली अर्थतन्त्रमा कस्तो पर्छ असर ?