काठमाडौं । शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ ।
विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउँछन् ।
‘अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना हुनुहुन्छ,’ थापा भन्छन् ।
ठमेलमा डेढ दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरे पनि पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन् । ‘पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटकहरु देखिन थालेका छन्,’ उनी भन्छन् । अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएको ठमेलका विग्रेका सडक मर्मत नहुँदा भने पर्यटकले सास्ती खेप्नुपरेको उनी बताउँछन् ।
लामो समयदेखि ठमेलमा कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी ठमेलमा पर्यटकीय चहलपहल बढे पनि व्यापार भने नबढेको बताउँछन् । उनी भन्छन् ‘गत वर्षका तुलनामा यस वर्ष ठमेलमा कपडा व्यापार घटेको छ । ‘पर्यटकको गतिविधि बढेसँगै ठमेलका होटलमा समेत विदेशी पाहुना भरिन थालेका छन् ।
ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल शरद ऋतुका लागि १ महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउँछन् । विसं २०७६ सालबाट सञ्चालित उक्त होटलमा ९२ कोठा रहेका छन् ।
ठमेलस्थित काठमाडौँ एक होटलका सञ्चालक सहदेव धमला पछिल्लो समय छोटो समयका लागि पर्यटक ठमेल घुम्न आउँदा ठमेलभित्रका व्यवसायीको सोचेजस्तो व्यापार हुन नसकेको बताउँछन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला विदेशी पर्यटकलाई ठमेलमा कसरी लामो समय राख्न सकिन्छ भन्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको बताउँछन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भने ठमेलका गल्लीमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । उनी भन्छन् ‘पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद् लागेको छ ।’
रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उनीको भनाइ छ । परिषद्ले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारलाई व्यवस्थापन गर्नेदेखि सिसि क्यामरा जडान र खाल्डो परेका सडक पुर्नका लागि सरोकारवाला निकायसँग सहकार्य समेत गरिरहेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२३ को ९ महिनामा ६ लाख ९२ हजार ३७२ विदेशी पर्यटक नेपाल आएका छन् । जसमध्ये सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, चिनियाँ पर्यटक ८ हजार १७४, अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसैगरी, बङ्गलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलङ्काबाट ३हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको बताउँछन् । ‘नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारत र चीनका पर्यटकलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ,’ उनले भने ।
विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहजरुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उनीको भनाइ छ । नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने डा रेग्मी बताउँछन् ।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा २ लाख ३० हजार, सन् २०२१ मा १ लाख ५० हजार ९६२ र सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका थिए।रासस