काठमाडौं । यस वर्ष बाढीपहिरोले झन्डै ५० किलोमिटर बढी सडकमा क्षति पुर्याएको छ । सडक विभागका अनुसार जेठदेखि असोजसम्म मनसुनका कारण आएको बाढीपहिरोले ४९ हजार ६७६ मिटर सडकमा क्षति पुगेको हो ।
देशभर २३ जिल्लाका सडकमा मनसुनले क्षति पुर्याएको विभागले जनाएको छ । बाढीपहिरोले कालोपत्र, ग्राभेल र कच्ची गरी तीनै किसिमका सडकमा क्षति पुर्याएको विभागका प्रवक्ता रामहरी पोखरेले जानकारी दिए ।
उनका अनुसार बाढीपहिरोका कारण सडकमा १ अर्ब ३६ करोड १२ लाख रुपैयाँ क्षति पुगेको छ । क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न २ अर्ब ४ करोड २७ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
‘हामीले यस वर्ष मनसुनले क्षति पुर्याएका सडकको लिस्ट तयार गरिसकेका छौँ । प्राप्त तथ्यांक अनुसार साढे ४९ किमी सडकमा क्षति पुगेको छ,’ उनले भने, ‘यसको पुननिर्माण गर्न २ अर्ब बढी खर्च हुने अनुमान छ ।’
क्षति पुगेको केही सडकको मर्मत थालिसकिएको छ भने अरु सडकको पनि मर्मतको तयारी भइरहेको उनले जानकारी दिए । मुख्य राजमार्गहरूमा दशैंकमा धेरै सवारी चाप हुने भएकाले सो अगावै मर्मतसम्भार गरिसक्न निर्देशन दिइसकिएको उनले बताए ।
कुन जिल्लामा कति सडकमा क्षति ?
विभागका अनुसार यस वर्ष बाढीपहिरोले देशभरका २३ जिल्लाको सडकमा क्षति पुगेको छ । विभागका अनुसार बाढीपहिराले सबैभन्दा धेरै सडक डिभिजन सुर्खेत अन्तर्गतको १० हजार ५०० मिटर सडकमा १८ करोड ७० लाख रुपैयाँको क्षति पुगेको छ । उक्त सडक पुननिर्माण गर्न २८ करोड ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै, सडक डिभिजन भरतपुर अन्तर्गत ७ करोड लागतमा बनेको १६ हजार ७०० मिटर सडकमा क्षति पुगेको छ । उक्त सडक बनाउन १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
त्यसैगरी, सडक डिभिजन बैतडी अन्तर्गतको ९ हजार ८८५ मिटर सडकमा ४४ करोड ३३ लाख रुपैयाँको क्षति पुगेको छ । सो सडक पुननिर्माण गर्न ६६ करोड ५० लाख रुपैयाँ लाग्ने विभागले जनाएको छ ।
त्यस्तै, सडक डिभिजन पाल्पामा ५४५ मिटर सडकमा क्षति पुगेको छ । उक्त सडक भत्किँदा २ करोड ३० लाख रुपैयाँ क्षति भएको सडक विभागले जनाएको छ । त्यसैगरी, कास्कीमा ९०० मिटर सडकमा क्षति पुग्दा ३ करोड ६२ लाख रुपैयँँ क्षति पुगेको छ । सो सडक बनाउन अब ५ करोड ४३ लाख रुपैयाँ खर्च हुने प्रवक्ता पोखरेलले बताए ।
नुवाकोटमा १४० मिटर सडक बिग्रिँदा १ करोड २० लाख रुपैयाँ क्षति पुगेको छ भने पुनर्निर्माण गर्न १ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यस्तै, सडक डिभिजन हेटौंडा अन्तर्गत १३५ मिटरमा २ करोड ९४ लाख रुपैयाँको क्षति पुगेको छ भने उक्त सडक बनाउन ४ करोड ४२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
त्यसैगरी, सडक डिभिजन चौरजाराही अन्तर्गतको १ हजार ७०० मिटरमा ५ करोडको सडकमा क्षति पुर्याएको छ भने उक्त सडक पुननिर्माण गर्न ७ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नेपालगञ्जमा ९८ लाख रुपैयाँ बनाइएको ३९० मिटर सडक बिग्रिएको छ । उक्त सडक बनाउन १ करोड ४८ लाख रुपैयाँ खर्च हुने विभागले जनाएको छ । विभागका अनुसार सडक डिभिजन हर्कपुरमा ३१४ मिटर सडकमा २ करोड ९८ लाख रुपैयाँको क्षति पुगेको छ । सो सडक बनाउन ४ करोड ४८ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
त्यस्तै, डोटीमा १ हजार ११६ मिटर सडकमा ७ करोड ७१ लाख रुपैयाँ, साँफेबगरमा १ हजार ४५१ मिटर सडकमा ७ करोड २० लाख, विराटनगरमा १४५ मिटर सडकमा ६० लाख रुपैयाँ, प्युठानमा ६० मिटर सडकमा ८० लाख रुपैयाँ, खोटाङमा ९८० मिटर सडकमा ८ करोड ७४ लाख रुपैयाँको क्षति भएको विभागले जनाएको छ ।
त्यसैगरी, मनसुनका कारण झापामा १५ मिटर सडक बिग्रिँदा १० लाख रुपैयाँ, भक्तपुरमा ५५ मिटरमा ७४ लाख, तनहुँमा ४१५ मिटरमा १ करोड ७४ लाख रुपैयाँ, दोलखा र सिन्धुपाल्चोकमा ३ हजार २७५ मिटर सडकमा ११ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । दोलखा र सिन्धुपाल्चोकमा मात्रै क्षति पुगेको सडक पुनर्निर्माण गर्न १७ करोड ११ लाख रुपैयाँ खर्च हुने प्रवक्ता पोखरेलले बताए ।
संघीय राजधानी काठमाडौंमा समेत वर्षाका कारण २४० मिटर सडकमा ४ करोड ५० लाख रुपैयाँको क्षति पुगेको छ । उक्त सडक पुननिर्माण गर्न ६ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यस्तै, इलाममा ५५५ मिटर सडकमा २ करोड ७० लाख र बीपी राजमार्गको १६० मिटर सडकमा ८४ लाख रुपैयाँको क्षति पुगेको विभागले जनाएको छ ।