एडीबीका पूर्व अध्यक्ष र प्रधानमन्त्री बीच भेटवार्ता

एशियाली विकास बैंक (एडीबी)का पूर्व अध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् । नेपालको पाँचदिने भ्रमणमा रहेका कुरोदाले आइतबार प्रधानमन्त्री दाहलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा पूर्व अध्यक्ष हारुहिको कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताए । जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याए । नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले मारेको फड्को आफूहरुका लागि पनि प्रेरक भएको बताए ।

यसैगरी कुरोदाले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्कर, पूर्व अर्थमन्त्रीहरु, अर्थविद्, वाणिज्य बैंकका कार्यकारी अधिकृतहरुसंग नेपालको आर्थिक विकासका विभिन्न पक्षबारे छलफल गरेका थिए ।

खबर हब र आईएसएस आरले काठमाडौं र पोखरामा आयोजित अर्थतन्त्रका विभिन्न आयामबारे गरिएका अन्तरक्रियामा सहभागी भई उनी स्वदेश फर्किएका छन् ।

 

नयाँ नोट सटही असोज २९ गतेदेखि, साढे १८ हजारसम्म साट्न पाइने Read Previous

नयाँ नोट सटही असोज २९ गतेदेखि, साढे १८ हजारसम्म साट्न पाइने

अपर तामाकोशीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन Read Next

अपर तामाकोशीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन