काठमाडौं । सेयर बजारमा लगानी गर्नका लागि नागरिक लगानी कोषले छुट्टै कम्पनी (स्टक डिलर कम्पनी) डेढ महिना भित्र स्थापना गर्नेगरि कामलाई तीव्र गतिमा अघि बढाएको छ । कोषले उक्त कामको लागि नायब कार्यकारी निर्देशक इन्द्र कट्टेलको संयोजकत्वमा कमिटी गठन गरेर काम अघि बढाएको हो ।
कोषले नेतृत्व गर्ने कमिटीमा सरकारी लगानीका विभिन्न कम्पनी नेपाल टेलिकम, बीमा संस्थान, नेपाल रि–इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधिहरु समेत रहेका छन् ।
‘स्टक डिलरको काम गर्नका लागि नयाँ कम्पनी मार्फत संयुक्त कोष बनाइने छ र त्यही कोष सेयर बजारमा लगानी गरिने गर्ने हाम्रो उद्देश्य हो,’ नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले चाणक्य पोष्टसँग भने ।

हाल नागरिक लगानी कोष एक्लैले सेयर बजारमा ७ अर्ब रुपैंयाँ लगानी गरिरहेको छ, भने बैंक तथा वित्तीय संस्थाहरुमा ८० अर्ब रुपैयाँभन्दा बढी नगद बचत गरेको उनले जानकारी दिए ।
‘अहिले लगानी मै रहेको ७ अर्ब रुपैयाँ र अर्को ५-७ अर्ब रुपैयाँ हामीले थप्ने र बाँकी रकम अन्य सरकारी लगानी रहेको कम्पनीबाट उठाएर सेयर बजारमा लगानी गर्दा बजारलाई स्थायित्व दिन सकिन्छ भन्ने हाम्रो बुझाई हो,’ नेपालले भने, ‘अन्य लगानीकर्ता बाट पनि पैसा उठाउँदा ठूलै कोष बन्ने देखिन्छ ।’
सामान्य लगानीकर्ताहरु बजार बढ्दा त्यसै मात्तिने र घट्दा आत्तिने हुनाले नेपाली सेयर बजारमा ठूलै संस्थागत लगानीकर्ताको महशुुस सरोकारवालाहरुले गरेकै हुन् । यो आवश्यकता पूर्तिको लागि म्युचुअल फण्डहरु सेयर बजारमा भित्राए पनि ती फण्डहरुको आकार अलि सानै भएका कारण तिनले सेयर बजारमा उल्लेख्य प्रभाव पार्न सकेका छैनन् ।
‘हामी आउँदैमा सेयर बजार बढिहाल्छ भन्ने त हुँदैन । तर, हामी सामान्य लागानीकर्ता झैं छिट्टै नाफा बुक नगर्ने हुनाले बजारलाई केही हदसम्म स्थिर राख्न सकिन्छ कि भन्ने हो । यसका लागि हामीले ठूलो कोष बनाउनका लागि अन्य लगानीकर्ता कम्पनीहरुलाई कम्तीमा बैंकको ब्याजदर सरह र बजार बढेका बेला त्यो भन्दा बढि नाफाको प्रत्याभूति दिनुपर्नेछ’ कार्यकारी निर्देशक नेपालले भने ।
नयाँ बन्ने स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको कम्तीमा ५१ प्रतिशत सेयर हुनेछ भने माथी उल्लेखित कम्पनीहरुले बाँकी सेयर हिस्सा ओगट्नेछन् ।
नागरिक लगानी कोषले गत आर्थिक वर्षको बैशाख महिनामै कम्पनी स्थापना गरेर कारोबार गर्ने योजना बनाए पनि प्रशासनिक अल्झनहरुका कारणले केही समय लम्बिएको हो ।
‘अब धेरै काम अघि बढिसकेकाले आगामी डेढ महिनामै कम्पनी गठनको काम सम्पन्न हुनेछ । सबै लगानीकर्ता कम्पनीहरुले आ–आफ्ना बोर्डबाट अनुमति लिएपछि कम्पनी गठनको प्रक्रियाले मूर्तरुप लिनेछ,’ कम्पनी गठन कमिटीका संयोजक एवं नागरिक लगानी कोषका नायव कार्यकारी निर्देशक इन्द्र कट्टेलले भने ।
कोषको आकार २० अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान सहजै लगाउन सकिन्छ ।