काठमाडौं । बुधबार विहान कतार एयरवेजको दोहा–काठमाडौं उडानमा रहेको एयरबस ‘ए–३३०’ (ए७ एसीएम) ले ‘ओभरसुट’ गर्यो भन्ने समाचार बाहिर आयो । विहान ७ः१२ मा भएको उक्त घटनाको पहिलो रिपोर्टिङ सम्भवत राष्ट्रिय समाचार समितिले गरेको थियो ।
राससको ग्राहक बनेर समाचार लिने अधिकांश मिडियाले यो समाचारलाई प्रमुखताका साथ स्थान दिएर प्रकाशित गरे । उक्त समाचार चल्तीका अधिकांश मिडियामा छापियो । तर, समाचार छाप्दा कुनै पनि मिडियाले वास्तविकता बुझ्न लागेको पाइएन ।
हामीले यसको विषयमा सोधखोज गर्दा कतार एयरवेजको विमानले ओभरसुट गरेको नभई गो-अराउण्ड मात्रै गरेको हो ।
ओभरसुट र गो-अराउन्डमा के भिन्नता ?
ओभरसुट र गोअराउण्डमा धेरै भिन्नता छ । ओभरसुट हुँदा प्रायः दुर्घटना हुने सम्भावना बढ्छ । त्यसैले ओभरसुटलाई ओभर रन पनि भन्न सकिन्छ । जहाज एयरपोर्टमा ल्याण्ड गर्दा रनवेको किनारमा पनि नरोकी अझै अगाडि गुड्यो भने यसलाई ओभरसुट भनिन्छ ।
ओभरसुट भएपछि उक्त जहाज एयरपोर्टको सीमावाबाट बाहिर जान सक्छ । यस्तो अवस्थामा जहाज मैदान, डाँडा, पानी वा सडकमा पुगेर दुर्घटना हुन्छ । त्यसैले ओभरसुट निकै जोखिमपूर्ण हुन्छ ।

एयरपोर्टको रनवेमा जहाज सुरक्षीत अवतरण गर्नका लागि र जहाज रोकिनका लागि पनि निश्चित मार्किङ गरेको हुन्छ । जहाज ल्याण्ड गर्ने क्रममा रोकिनु पर्ने मार्कमा नरोकिइ अगाडि बढेमा त्यसलाई ‘रनवे ओभरसुट’ भन्ने गरिन्छ ।
गो-अराउण्ड
उड्डय क्षेत्रमा प्राय भइरहने सामान्य घटना गो-अराउन्ड हो । जहाज रनवेसँग अलाइन नभएमा, अवतरण गर्न आवश्यक उचाइ कम वा बढी भएमा या अन्य केही प्राविधिक कारणले एयरपोर्ट नजिक आएर पनि ल्याण्ड गर्न नसक्ने अवस्था आउँदा गो-अराउण्ड गर्नु पर्ने हुन्छ ।