काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले प्राथमिक साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १० देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको हो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको छ । त्यसको १० प्रतिशत बराबर पहिलो चरणमा निष्कासन गर्न लागेको छ ।
पहिलो चरणमा १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले १ लाख ४० हजार कित्ता शेयर जारी गर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेकाहरुले सो आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्ताको लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ्ग कम्पनी इक्राले गरेको रेटिङ्गमा कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तोकिएका शाखा कार्यालय र ‘मेरो शेयर’ अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
मुक्तिनाथ कृषि कम्पनीले कृषक तथा कृषि सम्बन्धी विभिन्न काम गरिरहेको छ ।