बझाङ । बझाङमा भूकम्पबाट १३५ संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार हिजो आएको भूकम्पले अहिलेसम्म १३५ संरचनामा क्षति पुगेको हो ।
उनका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
यस्तै, भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।
बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस