काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार थालिएको ५ वर्ष बित्न लाग्दा बल्ल एकतिहाई काम पूरा भएको छ । साढे ३ वर्षभित्र सक्ने गरी २०७५ चैतदेखि विस्तार थालिएको यस सडकको हालसम्म ३९ प्रतिशत मात्र काम सकिएको हो ।
दुई खण्डमा विभाजन गरी काम भइरहेको यस सडकको हालसम्म समग्रमा ३९ प्रतिशत काम सकिएको एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले जनाएको छ । आयोजनाको अझै ६१ प्रतिशत काम बाँकी रहेको छ ।
ठेकेदारको लापारबाही, रुख कटान र साइट क्लियरेन्समा ढिलाइ, कोरोना महामारी, सरकारको वेवास्ता लगायत कारणले सडक विस्तारले गति लिन नसकेको हो ।
११४ किमी लम्बाइको यो सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ । नारायणगढ-दाउन्ने र दाउन्ने-बुटवल खण्डमा विभाजन गरेर काम भइरहेको हो । एडीबीका उपआयोजना निर्देशक विजयकुमार महत्तोल नारायणगढ–दाउन्नेमा हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको बताए । उनका अनुसार दाउन्ने–बुटवल खण्डमा ३७ प्रतिशत भौतिक प्रगति भएको छ । यो ५ वर्षमा झण्डै ३० किलोमिटर सडक कालोपत्र भएको छ ।
दुवै खण्ड विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । आयोजनको कुल अनुमानित लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ । आयोजना अन्तर्गत हालसम्म २७ प्रतिशत बजेट खर्च भएको महत्तोले बताए ।
लक्ष्य अनुरुप काम नभएपछि १ वर्षका लागि म्याद थपिए पनि सो अवधिमा काम पूरा नभएपछि फेरि १ वर्ष म्याद थपिएको छ । दोस्रो पटक थपिएको म्याद २०२४ जुन २४ सम्म छ । दोस्रो पटक थपिएको म्याद पनि अब ९ महिना मात्र बाँकी छ ।
हाल वर्षाका कारण कामले गति लिन नसके पनि वर्षा सकिएपछि गति लिने महत्तोले बताए । ‘वर्षाका कारण पछिल्ला २÷३ महिना कामले गति लिन सकेको थिएन । वर्षा कम भएसँगै अहिले ठेकेदार कम्पनीले कामको स्पीड बढाएको छ,’ महत्तोले भने ।
महत्तोले विगतमा काम नगरेकाले ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएपछि कामको गति बढाएकाले पुनः एकपटक म्याद थपिएको उनले बताए । उनले अबको ९ महिनामा काम नसके ठेक्का तोडिने बताए । ‘ठेकेदारसँग धेरै समय छैन ९ महिनामा कालोपत्र गरेन भने ठेक्का तोड्ने छौँ,’ उनले भने ।
दशैंलाई सहज बनाउन खाल्डाखुल्डी पुर्न निर्देशन
सडक विस्तारमा ढिलाइ हुँदा यात्रु र सवारीचालकले ४ वर्षदेखि हैरानी व्यहोर्दै आएका छन् । नजिकिँदै गरेको दशैंका कारण सडकमा सवारीको चाप बढ्ने भएकाले सहज बनाउन खाल्डाखुल्डी पुर्न ठेकेदारलाई निर्देशन दिइएको उपआयोजना निर्देशक महत्तोले बताए ।
उनले सडक विस्तारका क्रममा खनिएका खाल्डाखुल्डी दशैंसम्म पुरेर सहजै गाडी गुड्न सक्ने बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । ‘हामीले ठेकेदारलाई बोलाएर दशैँमा गाडी आवतजावत गर्न सहज हुने गरी सडक मेन्टन गर भनेका छौँ, १०/१५ दिनमा त्यो बाटो राम्रो हुनेछ,’ उनले भने ।