काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२४)मा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । गत वर्ष १.९ प्रतिशतमा सीमित आर्थिक वृद्धिदर यस वर्ष २ प्रतिशतले बढेर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट २०२३’ अनुसार यस वर्ष नेपालको कृषि क्षेत्रको वृद्धिदर घट्ने भए पनि उद्योग र सेवाक्षेत्रको वृद्धिदरमा उल्लेख्य सुधार हुने भएकाले समग्रमा आर्थिक वृद्धिदर बढ्ने छ ।
पछिल्लो समय आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रमा सुधार आउनु, राष्ट्र बैंकले मौद्रिक नीति विस्तारै खुकुलो बनाउँदै लैजानु जस्ता कारणले चालु आवमा आर्थिक वृद्धिदरमा सुधार हुने विश्व बैंकले बताएको छ ।
सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा भने नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषिक्षेत्रको वृद्धिदर घट्ने प्रक्षेपण गरेकाे छ । विश्व बैंक यस वर्ष कृषिक्षेत्रको वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । गत वर्ष नेपालको कृषि क्षेत्रको वृद्धिदर २.७ प्रतिशत थियो ।
पशुमा देखिएको महामारी लम्पी स्कीन रोग र धान रोपाइँमा भएको कमीले गर्दा कृषि क्षेत्रको आर्थिक वृद्धिदर खुम्चने विश्व बैंकले जनाएको छ ।यस वर्ष लम्पी स्कीन रोगका कारण किसानले अर्बौं रुपैयाँको क्षति व्यहोर्नुपरेको छ । त्यस्तै, समयमै वर्षा नहुँदा धान रोपाइँ ०.७ प्रतिशतले घटेकाले उत्पादनमा असर पर्ने विश्व बैंकले जनाएको छ । आगामी वर्ष भने कृषि क्षेत्रको वृद्धिदरमा सामान्य सुधार आउने विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।
चालु वर्षमा नेपालको कृषि क्षेत्रको वृद्धिदर घटे पनि उद्योग र सेवामूलक क्षेत्रमा भने उल्लख्य सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । चालु वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर झन्डै ५ गुणाले बढेर ३.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । गत वर्ष औद्योगिक क्षेत्रको वृद्धिदर ०.६ प्रतिशतमा सीमित थियो । जलविद्युत् क्षेत्रमा भएको वृद्धिले समग्र औद्योगिक क्षेत्रको वृद्धिमा सहयोग पुग्ने विश्व बैंकको भनाइ छ ।
यसैगरी, चालु वर्षमा नेपालको सेवा क्षेत्रको वृद्धिदर दोब्बरले बढ्ने विश्व बैंकको अनुमान छ । गत वर्ष २.३ प्रतिशतमा सीमित सेवा क्षेत्रको वृद्धिदर चालु वर्षमा बढेर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।
चालु वर्षमा विदेशी पर्यटकको आवगमन बढेकाले होटल र वायुसेवा व्यवसायमा सुधार आउँदा सेवा क्षेत्रको वृद्धिमा टेवा पुग्ने जनाइएको छ । त्यस्तै, घरजग्गा सम्बन्धी नीतिमा गरिएको सुधारले कारोबार बढाउने अनुमान गरिएको छ ।
नेपालको अर्थतन्त्रको के-के छन् चुनौती ?
विश्व बैंकले नेपाली अर्थतन्त्रमा आधादर्जन बढी विद्यमान चुनौती रहेको उल्लेख गरेको छ । अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर चुनौती रहेकाे उल्लेख गरेको छ ।
त्यस्तै, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।
यस्तै, प्रतिवेदनमा नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।