अख्तियारद्वारा १ वर्षमा ७६६ विरुद्ध मुद्दा दायर, पौने २ अर्ब बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उनीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ मुद्दामा ७६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये ६२२ जना पुरुष र १३८ महिला छन् ।

गत आवमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार ९०५ उजुरी परेको थियो । साथै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीसहित कारबाही गर्नुपर्ने २८ हजार ६७ उजुरी थिए ।

प्राप्त उजुरीमध्ये सबैभन्दा वढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५.९५ प्रतिशत छन् । साथै शिक्षा (स्थानीय तहसमेत) १४.५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित ४.१४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित ३.१२ प्रतिशत उजुरी छन् ।

आयोगका अनुसार भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ४.१० प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित ३.५८ प्रतिशत र पर्यटन, उद्योग तथा वाणिज्यसँग सम्बन्धित २.७१ प्रतिशत उजुरी परेका छन् ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित २.५८ प्रतिशत, खानेपानी तथा सहरी विकाससँग सम्बन्धित २.५१ प्रतिशत, अर्थ मन्त्रालयसँगसम्बन्धित १.८९ प्रतिशत, कृषि तथा पशुपन्क्षी मन्त्रालयसँग सम्बन्धित १.५२ प्रतिशत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित १.०३ प्रतिशत उजुरी परेको आयोगको भनाइ छ ।

त्यसैगरी, नक्कली शैक्षिक प्रमाण पत्रसँग सम्बन्धित ६.०२ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ७.१२ प्रतिशत र अन्य निकाय÷क्षेत्रसँग सम्बन्धित उजुरी ३.०९ प्रतिशत छन् ।

गत आवमा परेका कुल उजुरीमध्ये १८ हजार ७९९ अर्थात् ६६.९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानविनबाट फछ्र्यौट भएका छन् । जसमध्ये १ हजार १.३३ उजुरीउपर विस्तृत अनुसन्धान गरिएको आयोगले जनाएको छ  । ७ हजार ८६९ उजुरी तामेली गरिएको र १५२ उजुरीउपर सुझावसहित तामेली गरिएको छ । आयोगका अनुसार ९ हजार ६४५ उजुरीउपर आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ ।

प्रारम्भिक छानबिनका क्रममा रहेका ९ हजार २६८ उजुरी चालु आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका छन् । गत आवमा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कूल ८७८ उजुरीउपर आयोगबाट ९३७ वटा निर्णय भएकोमा १६२ वटा आरोपपत्र दायर गरिएको छ । साथै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोप पत्रमध्ये गैरकानुनी लाभ हानिसँग सम्बन्धित ६४, घुस/रिसवतसँग सम्बन्धित ३२, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित २७, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८, राजस्व चुहावटसम्बन्धी ७ र विविध विषयका ११ वटा छन् ।

उल्लेखित आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई रु १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ बिगो मागदाबी लिइएको छ ।

यस्तै, आयोगबाट विगत वर्षमा विशेष अदालतमा दायर भएका आरोपपत्रमध्ये आव २०७९/८० मा ३४१ वटा मुद्दाहरूको फैसला भएको छ । जसमध्ये ११४ वटा अर्थात् ३३.४३ प्रतिशत फैसलामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ ।

सर्वोच्च अदालतको फैसलाबमोजिम रङ्गे हात कारबाहीमा आयोगले प्रमाणका लागि उपलब्ध गराएको रकममार्फत भएका मुद्दाहरू खारेज गरेका कारण कसुर कायम आएको देखिएको छ । अनुपातमा कमी विशेष अदालतबाट भएका फैसलामध्ये आव २०७९/८० मा २३७ वटा फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

आयोगमा परेका उजुरीहरू र अनुसन्धानपश्चात आयोगले दायर गरेका आरोपपत्रबाट घुसररिसवत लिने दिने, सार्वजनिक सम्पत्तिको हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गर्ने, गैरकानुनीरूपमा सरकारीरसार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्नेजस्ता भ्रष्टाचारजन्य काम भएका छन् ।

आयोगका अनुसार सार्वजनिक खरिद तथा निर्माणका काममा बदनियत राखि व्यक्तिगत लाभ लिने तथा नेपाल सरकारलाई हानि पुर्‍याउने, गैरकानूनीरूपमा सवारीचालक अनुमतिपत्र जारी गर्ने, गलत लिखत वा प्रतिवेदन बनाउने, परीक्षाको परिणाम फेरबदल गर्ने, गैरकानुनीरूपमा सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावटरहिनामिना गर्नेजस्ता भ्रष्टाचारजन्य कार्यहरू भएको पाइएको छ ।

आयोगका अनुसार गत आवमा सबैभन्दा धेरै स्थानीय तहसँगसम्बन्धित मुद्दा ६६ वटा परेका छन् ।

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने महासंघको निर्णय Read Previous

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने महासंघको निर्णय

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना Read Next

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना